Nepal Purbadhar

सिमसारकी जलअप्सरा: नाम जस्तै सुन्दर चरा, अद्भुत क्षमता (तस्बिरहरू)

An action-filled dynamic shot of two Pheasant-tailed Jacanas on a freshwater pond with one bird in the foreground with wings spread ready for take-off from lily pads, and another bird in the background flying, suggesting a chase or interaction.


सुनसरी। सिमसार क्षेत्रमा देखिने जलअप्सरा नामजस्तै आकर्षक चरा हो। लामो पुच्छर, गाढा खैरो/कालो शरीर, टाउकोको अघिल्लो भागमा सेतो र घाँटीको पछाडिको भागमा चम्किलो सुनौलो रंग हुने यो चरा पानीमाथि तैरिएका पातमा हिँड्न सक्ने अनौठो क्षमताका कारण पनि चिनिन्छ।

दुर्लभ प्रजातिको चरा नभए पनि यसको आकर्षक स्वरूप र अनौठो चालका कारण चराप्रेमी तथा वन्यजन्तु फोटोग्राफरको रोजाइमा पर्ने गरेको छ। यतिबेला सिमसार क्षेत्रमा प्रशस्त पानी रहेकाले जलअप्सराको बासस्थान देख्न सकिन्छ।

पक्षीविद् अनिष तिम्सिनाका अनुसार कोसीटप्पु वन्यजन्तु आरक्ष आसपासका धेरै सिमसार क्षेत्रमा जलअप्सराले पानीमाथि गुँड बनाएर बच्चा हुर्काउँदै आएको देखिन्छ। जाडो मौसममा भने यो चरा हत्तपत्त देख्न मुस्किल हुने उनी बताउँछन्। सप्तकोशीको बीच भाग तथा जंगल क्षेत्रमा पानी बाँकी रहेका पोखरीमा यो चरा सुरक्षित रूपमा बसेको भेटिने गरेको उनको भनाइ छ।

जलअप्सराले प्रायः कमलका ठूला पात तथा जलकुम्भी भएको स्थानमा गुँड बनाउने गर्छ। पानीमा पाइने विभिन्न किरा, लेउ, विभिन्न वनस्पतिका दाना तथा फूलका कलिला कोपिला यसको आहारा हुन्।

यसका खुट्टा र औँलाहरू शरीरको तुलनामा निकै लामा हुन्छन्। यही विशेषताका कारण यसले सिमसारमा तैरिएका कमललगायतका पातमाथि आफ्नो शरीरको सन्तुलन मिलाएर सहजै हिँड्न सक्छ।

तिम्सिनाका अनुसार जलअप्सराले माघ-फागुनतिर जोडी खोज्न सुरू गर्छ। वैशाख-जेठतिर अण्डा पार्ने, ओथारा बस्ने र बच्चा हुर्काउने प्रक्रिया सुरू हुन्छ। असोज-कार्तिकसम्ममा बच्चा हुर्किएर वयस्क बन्ने गर्छन्।

जलअप्सराको प्रजनन प्रक्रिया पनि अन्य चराभन्दा फरक छ। यसको पोथीले एउटै प्रजनन सिजनमा धेरै भालेसँग जोडी बाँध्ने गर्छे। पोथीले पानीमाथि तैरिने गुँडमा अण्डा पारेर छाडेपछि अण्डा कोरल्ने र बच्चा हुर्काउने जिम्मेवारी भालेले लिन्छ।

प्रजनन समय र अन्य समयमा यसको रूप, आकार तथा रंगमा समेत परिवर्तन आउने तिम्सिना बताउँछन्। उनका अनुसार बच्चा हुर्कँदै जाँदा लामो पुच्छर छोटिँदै जान्छ र प्रजननको समयमा फेरि बढ्छ। टाउकोको अघिल्लो भाग, घाँटीको पछाडिको पहेँलो रंग तथा शरीरको बाँकी भागको रंगमा समेत परिवर्तन देखिन्छ।

तस्बिर : नवीन गड्तौला/नेपाल फोटो लाइब्रेरी


Read Previous

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar