Nepal Purbadhar

प्रतिनिधिसभा बैठक: सर्वदलीय समिति गठनदेखि ‘ईभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग

संघीय संसद बैठक, फाइल फोटो।


काठमाडौं। प्रतिनिधिसभा बैठकमा सांसदहरूले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन संसद्बाट सर्वदलीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले विपद्पछिको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले सुरक्षित यातायातका लागि सडक सुरक्षामा ध्यान दिन तथा चालकको अनुभव र दक्षतालाई प्राथमिकता दिन पनि माग गरेका छन्।

सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। उनले राहत तथा पुनःस्थापनाका कामलाई गति दिनुपर्ने बताउँदै विपद् व्यवस्थापनमा प्रभावकारी समन्वयका लागि संसद्बाट सर्वदलीय समिति गठन गर्नुपर्नेमा जोड दिए।

केसीले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रण गर्न र खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पनि सरकारसँग माग गरे।

सांसद पुकार बमले मकवानपुरमा मंगलबार भएको विद्युतीय सवारीसाधन दुर्घटनाबारे संसद्लाई जानकारी गराउँदै सुरक्षित यातायातका लागि सडक सुरक्षासँगै चालकको परिपक्वता र अनुभवलाई ध्यान दिनुपर्ने बताए।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले चालक तथा प्रयोगकर्तालाई लक्षित गरी ‘ईभी सेफ्टी एजुकेशन’ लागू गर्नुपर्ने बमको माग थियो।

सांसद धनञ्जय रेग्मीले भोटेकोशी बाढी जलवायु परिवर्तनसँग सम्बन्धित रहेको भन्दै नेपालसँग उपलब्ध प्रमाण तथा इसिमोडलगायत निकायले गरेका अध्ययन र अनुसन्धानले समेत यस विषयमा पर्याप्त आधार दिएको बताए।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्र प्रभावित भइरहेको उल्लेख गर्दै रेग्मीले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घ महासभा सहभागिताका क्रममा जलवायु परिवर्तन र हिमालका मुद्दामा नेपालको स्पष्ट धारणा प्रस्तुत गर्नुपर्ने बताए।

नेपालले जलवायु तथा हिमालका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो।

सांसद माधवबहादुर थापाले पाल्पाको सिद्धबाबा क्षेत्रमा दैनिकजसो हुने दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराए। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग अन्तिम चरणमा पुगे पनि निर्माण कार्यलाई तीव्रता दिई छिटो सम्पन्न गर्न उनले आग्रह गरे।

थापाले वैकल्पिक सडकको निर्माण तथा मर्मतसम्भारमा समेत सरकारले ध्यान दिनुपर्ने बताए।

सांसद दीपककुमार शाहले महोत्तरीमा विकास निर्माणको माग गर्दै प्रदर्शन गर्ने नागरिक र सुरक्षाकर्मीबीच झडप भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरे।

त्यस्तै, सांसद लालविक्रम थापाले इटहरीको शिरबाट बग्ने खोला भत्किएर बजार क्षेत्र जलमग्न भएको जानकारी गराए। बाँधभन्दा खोला अग्लो भएको र खोलाले धार परिवर्तन गरेका कारण थप क्षति हुन सक्ने भन्दै उनले समयमै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरे।


Read Previous

चार महिनापछि सार्वजनिक सवारीको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता

Read Next

विपद् व्यवस्थापनमा उच्चस्तरीय संयन्त्र, संसद बाहिरका दल पनि समेटिने, नेतृत्व रविले गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar