
नुवाकोट/धादिङ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माण सुरु भएको छ। पुल क्षतिग्रस्त भएपछि टुटेको त्रिशूली वारिपारिको सम्बन्ध पुनः जोड्ने उद्देश्यले सरकारले मर्मत तथा पुनःनिर्माणको काम अघि बढाएको हो।

बाढीका कारण नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ। पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्को किनारमा जान स्थानीयलाई समस्या भएको छ भने बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवामा पुग्नसमेत कठिनाइ भएको छ।
विशेषगरी नुवाकोटको केउरेनी बजार, तारुकाघाटलगायतका क्षेत्रमा रहेका क्षतिग्रस्त पुलको मर्मत सुरु भएको छ। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्। दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार जानेदेखि कृषि उत्पादन ओसारपसार गर्नेसम्मका काम प्रभावित भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ ओटा झोलुङ्गे पुलमध्ये ५३ ओटा पुलमा बाढीबाट क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको थियो।
सरकारी अधिकारीले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका क्रममा क्षति पुगेका ५३ ओटा पुलमध्ये २० ओटा मर्मत गर्नुपर्ने र ३३ ओटा पुनःनिर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए। क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको जनाएको छ।
मर्मत सुरु भएका पुलमध्ये महेश दोभान-मास्टार, कालिकाथान, मलिङ्गा-मझुवाटार, केउरेनी-गहते र पिमलटार-जागराम खोला झोलुङ्गे पुलको काम अघि बढिरहेको छ। यी पाँच ओटै पुलको मर्मत कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, पुनःनिर्माण गर्नुपर्ने ३३ ओटा झोलुङ्गे पुलका लागि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको जनाएको छ। पुल पुनःनिर्माण भएपछि बाढीका कारण विच्छेद भएका ग्रामीण बस्ती र बजार क्षेत्रबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा नदी आसपासका बस्तीमा समेत ठूलो क्षति पुर्याएको थियो। बाढीपछि कतिपय स्थानमा सडक कटान तथा भासिएपछि यातायात सेवा प्रभावित भएको छ।

स्थानीयवासीका लागि झोलुङ्गे पुल आवतजावतको माध्यम मात्र नभई बजार, विद्यालय, स्वास्थ्य चौकी तथा रोजगारीसँग जोडिने प्रमुख पूर्वाधारसमेत हुन्। त्यसैले क्षतिग्रस्त पुल छिटो सञ्चालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन्।
सरकारले मर्मत सुरु गरेका पुल तोकिएको समयमै सम्पन्न गर्न सकेमा बाढीका कारण लामो समयदेखि प्रभावित स्थानीय जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।


तस्बिर : प्रकाश चन्द तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
