Nepal Purbadhar

ऊर्जा उद्यमी बटु लामिछाने उद्योग वाणिज्य महासंघको ऊर्जा समिति सभापतिमा मनोनीत


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई समितिको सभापतिमा मनोनयन गरेको हो।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अघि बढाउन नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
ऊर्जा क्षेत्र नेपालको आर्थिक विकास र औद्योगिकीकरणको महत्वपूर्ण आधार बन्दै गइरहेका बेला लामिछानेले समितिको नेतृत्व सम्हाल्नु अर्थपूर्ण रूपमा हेरिएको छ। समितिको सभापतिको जिम्मेवारीमा रहेर ऊर्जा तथा नवीकरणीय ऊर्जासम्बन्धी गतिविधि, नीति तथा कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका निर्वाह गर्ने अपेक्षा महासंघले गरेको छ।
महासंघले समितिबाट भएका गतिविधि तथा कार्यभारको त्रैमासिक रूपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको समेत पत्रमार्फत जानकारी गराएको छ।
लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालन गरिरहेको बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन्। ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय लामिछानेको अनुभवले महासंघअन्तर्गतको नवीकरणीय एवं ऊर्जा समितिको नेतृत्वमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।


Read Previous

बाढी प्रभावित सडक असोजभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar