
काठमाडौँ । भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावती तथा आसपासका क्षेत्रमा रहेका १०० घरधुरीलाई ताराङ नेपाल र पिस विन्ड्स जापान (पीडब्लुजे) ले राहत तथा पुनर्स्थापनाका सामग्री वितरण गरेका छन्।
संस्थाका अनुसार बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत तथा सुरक्षित रूपमा दैनिक जीवन पुनः सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
पहिलो चरणमा २३ र दोस्रो चरणमा २० घरधुरीलाई राहत सामग्री वितरण गरिएकोमा शनिबार थप ५७ घरधुरीलाई सामग्री हस्तान्तरण गरिएको छ। यससँगै कुल १०० घरधुरीले राहत प्राप्त गरेका छन्।
प्रत्येक परिवारलाई किचन सेट, ग्यास सिलिन्डर र चुल्हो, आकस्मिक बत्ती (इमर्जेन्सी लाइट), पानी शुद्धीकरण फिल्टर तथा पावर बैंक उपलब्ध गराइएको संस्थाले जनाएको छ। बाढीका कारण घर तथा दैनिक जीवनका अत्यावश्यक सामग्री गुमाएका परिवारलाई तत्काल पुनर्स्थापनामा सहयोग पुग्ने गरी राहत सामग्री वितरण गरिएको जनाइएको छ।
राहत वितरण कार्यक्रममा ताराङ नेपालका राजन थापा, विनोद नेपाल, नरेश खड्का र शशी सापकोटासहित पिस विन्ड्स जापानका हाजुकी कोबायासी, एम. टोमोए किकुची र मानामी योकोकावा सहभागी थिए। विदुर नगरपालिका–१० का वडा अध्यक्ष गणेश नेपालले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

राहत प्राप्त गरेका स्थानीयवासीले किचन सेट, ग्यास सिलिन्डर र चुल्होजस्ता सामग्रीले बाढीपछि सामान्य जीवन पुनः सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुगेको बताएका छन्। आकस्मिक बत्ती, पानी फिल्टर र पावर बैंकले समेत दैनिक जीवन सहज बनाउन मद्दत पुगेको उनीहरूको भनाइ छ।
वडा अध्यक्ष गणेश नेपालले विपद्पछि प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय तहसँगको समन्वयमा राहत उपलब्ध गराएकोमा ताराङ नेपाल, पिस विन्ड्स जापान तथा सहयोगी जापानी नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्रभावित परिवारलाई सुरक्षित आवासमा फर्केर सामान्य जीवन पुनः सञ्चालन गर्न यस्ता सहयोग प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
ताराङ नेपालका राजन थापाले राहत वितरणको उद्देश्य बाढीपीडित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै उनीहरूलाई सुरक्षित रूपमा आफ्नै आवासमा फर्किएर दैनिक जीवन पुनः सञ्चालन गर्न सहयोग पुर्याउनु रहेको बताउनुभयो। स्थानीय तहसँगको समन्वयमा वास्तविक प्रभावित परिवार पहिचान गरी आवश्यकताअनुसार राहत वितरण गरिएको उहाँको भनाइ थियो।
उहाँले बाढी प्रभावित समुदायका लागि तत्कालीन राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणमा समेत निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै सरकार, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
