Nepal Purbadhar

निडर प्रकृति, जो साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन्


चितवन। चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका थिए । घाइतेको उपचार गर्ने तयारी गरिरहेको अस्पतालमा एकपछि अर्को शव आउन थालेको थियो । शव देखेर भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आत्तिन थालिसकेका थिए ।

घाइतेको उपचार गर्न तयार अस्पताल शव व्यवस्थापनमा जुट्नुपर्ने भयो । यसपछि अस्पताल प्रशासनले जिम्मेवारी बाँड्यो । नर्स प्रकृति तिमिल्सिनाको भागमा जिम्मा आइपर्‍यो – शवहरूको विवरण राख्ने र डीएनए संकलनमा सहयोग गर्ने ।

सामान्य दिनमा अस्पतालको थालासेमिया डे-केयर एकाइमा बिरामीको सेवा गर्ने प्रकृतिको जिम्मेवारी पछिल्लो एकसाता शवकै आसपास रहेर बित्यो । उनी पछिल्लो एक साता बाढीमा ज्यान गुमाएका ३ सय ३५ भन्दा बढी शवको विवरण राख्ने र डीएनए संकलनमा सहयोग गर्न व्यस्त रहिन् । ‘हामी नर्सिङ पढेपछि सधैँ जीवित बिरामीको उपचार गर्छौं,’ उनले शव आसपास काम गर्नुपर्दाको अनुभव सुनाइन्, ‘यो मेरो लागि एकदमै फरक र चुनौतीपूर्ण काम थियो । तर मेडिकल फिल्डमा भएपछि यस्तो विपद्को बेला मैले नै गर्नुपर्छ भन्ने मेरो मनमा लाग्यो र म आफैँ अगाडि सरेँ ।’

यसरी शवगृहमा यति धेरै शवको रेकर्ड राख्नु उनको पहिलो अनुभव थियो । शवगृहमा काम गर्ने भनेपछि धेरैले असहज मान्छन् । प्रकृतिका लागि यो निडरता नयाँ कुरा थिएन । उनी पीसीएल नर्सिङ पढ्दादेखि नै निकै साहसी भएको स्वअनुभव गर्छिन् । ‘मलाई सुरूदेखि नै यस्ता कुरामा डर लाग्दैनथ्यो । पीसीएल पढ्दा भर्खरै सुई (इन्जेक्सन) लगाउन सिक्ने बेला धेरै साथीहरू डराउँथे । तर म पहिलो दिनदेखि नै ‘म लगाउँछु’ भन्दै आफैँ अघि सर्थेँ,’ उनले विगत सम्झिइन् ।

मृत शरीर र चरम दुर्गन्धसँग काम गर्दा आफूलाई असहज नलागेको उनी सुनाउँछिन् । उनको मनमा अज्ञात मृतक र उनीहरूका शोकाकुल परिवारप्रति गहिरो सहानुभूति मात्र थियो । यो कठिन काममा उनी एक्लै थिइनन् । १० जना सहयोगी दाइहरू र ६-७ जना डाक्टरहरूको टिम थियो । डाक्टरहरूमा भरतपुर अस्पतालका दुई जना फरेन्सिक विशेषज्ञका साथै काठमाडौँ, भेरी र लुम्बिनी अस्पतालबाट बोलाइएका विज्ञहरू थिए ।

कसरी राखिन्थ्यो रेकर्ड ?

शवगृहमा काम गर्ने तरिका निकै संवेदनशील र व्यवस्थित थियो । सुरूमा प्रहरीले शव लिएर आउँथे । सहयोगी दाइहरूले बाढीको माटो र हिलोले पुरिएका शवहरूलाई पानीले धोएर सफा गर्थे । माटो पखालिएपछि प्रकृतिले शवको मसिनो विवरण टिप्न थाल्थिन् । उनले शवको शरीरमा ट्याटु छ कि छैन, कोठी कता छ, कुनै चोटको दाग, दाँतमा बाँधिएको ब्रेसेस, कपालको रंग र लम्बाइ कति छ — सबै कुरा नापेर डायरीमा रेकर्ड गर्थिन् ।

मृतकको कानमा भएका सुनका गहनाहरू प्रहरीले सुरक्षित निकाल्थे र प्रकृतिले त्यसको पनि रेकर्ड राख्थिन् । उनको मनमा लागिरहन्थ्यो – मैले राखेको रेकर्डले परिवारलाई हराएकाहरू खोज्न सहज होला कि नहोला ? ‘हामीले आफ्नो शत प्रतिशत दिएर काम गर्‍यौँ, किनभने हाम्रो सानो विवरणले गर्दा पछि कुनै परिवारले आफ्नो हराएको मान्छे चिन्न सकोस् र सम्मानपूर्वक दाहसंस्कार गर्न पाओस् भन्ने हाम्रो आशा थियो,’ उनले भनिन् ।

एउटा सिङ्गो शवको विवरण लिन २५ देखि ३० मिनेट लाग्थ्यो । टुक्रिएको अंग मात्र हुँदा १० देखि १५ मिनेट लाग्थ्यो । त्यसपछि डीएनए संकलनका लागि दाँत वा हड्डी निकालिन्थ्यो र त्यसलाई अस्पताल र प्रहरीको छुट्टाछुट्टै कोडिङ मिलाएर सुरक्षित रूपमा लेबलिङ गर्ने काम प्रकृतिले गर्थिन् । काम सुरू गरेको पहिलो र दोस्रो दिन उनलाई सजिलो नै महशुस भएको थियो । त्यसपछिका दिन गर्मीका कारण शवहरू छिट्टै सड्न थालेपछि गन्ध सहनै नसक्ने हुन थाल्यो । ‘हामीले अनुहारमा दुई-तीनवटासम्म मास्क लगाउँथ्यौँ । सास फेर्नै गाह्रो हुन्थ्यो,’ उनले काम गर्दाका असहजता सुनाइन् । बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म लगातार ११ घण्टा शवहरूकै बीचमा आफूहरू काममा खटिएको उनले बताइन् ।

क्षतविक्षत शव र बडी ब्याग देख्दा नआत्तिने कुरा पनि भएन । सुरूमा उनी डराइन् । ‘सुरूमा यति धेरै बडी ब्याग र शवहरू देख्दा साह्रै डर लागेको थियो । यो काम कसरी सकिएला भन्ने लागेको थियो,’ उनले आफ्नो डर लुकाइनन्, ‘मानसिक रूपमा म निकै थाकेकी थिएँ, राति सुत्न पनि गाह्रो हुन्थ्यो । तर आफ्नो जिम्मेवारी पहिलो प्राथमिकता हो भन्ने सोचेर मैले त्यो डर र घिनलाई मनबाट हटाएँ ।’ यति ठूलो संख्यामा शव व्यवस्थापन, डीएनए संकलन गर्ने यो जटिल कार्य अस्पताल व्यवस्थापन र पूरै टिमको अनवरत प्रयास र सहकार्य भएको उनको भनाइ छ ।

अस्पताल प्रशासन आवश्यक सामग्रीहरू तत्काल उपलब्ध गराउन सधैँ ‘स्ट्यान्डबाई’ रहने र फरेन्सिक टोलीका सदस्यहरूले काँधमा काँध मिलाएर काम गरेकै कारण यो कठिन कार्यमा खटिन सम्भव भएको उनको भनाइ छ ।

सात दिन खटिँदा प्रकृतिलाई केही दृश्यले मन कुँडियो । २-३ वर्षका बच्चाको टुक्रा-टुक्रा शव देख्दा उनले आँसु थाम्न सकिनन् । ‘म आफैँ पनि एउटी आमा हुँ । त्यसैले साना बच्चाहरूको त्यस्तो अवस्था देख्दा मेरो मुटु च्यातिएर आयो,’ उनी भावुक भइन्, ‘त्यो दृश्यले मलाई भित्रैदेखि हल्लाइदियो । जिन्दगी कति अनिश्चित छ ! को मान्छे कहाँबाट बगेर कहाँ पुग्छ, केही थाहा नहुने रहेछ भन्ने लाग्यो ।’

प्रकृतिको नियम : अस्पतालका कुरा घरमा बन्द !

एक आमा र नर्सको भूमिकालाई उनले परिपक्व ढंगले व्यवस्थापन गरिन् । यसमा उनका सासु-ससुरा र श्रीमानको भूमिका बलियो खम्बा बन्यो । घरमा बच्चाको रेखदेख हजुरबा-हजुरआमाले पारिवारिक जिम्मेवारीका साथ सम्हालिदिएकाले उनी आफ्नो कर्तव्य निर्वाह गर्न जाँदा निकै आश्वस्त थिइन् ।

प्रकृतिले आफ्नो पारिवारिक र व्यावसायिक जिम्मेवारी निर्वाह गरिन् । दिनभर शवगृहको कहालीलाग्दो वातावरणमा काम गरेर घर फर्किएपछि प्रकृतिले एउटा नियम बनाइन् — घरमा कहिल्यै पनि यसबारे कुरा नगर्ने ! ‘म घर पुगेपछि फ्रेस हुन्थेँ र बच्चा अनि परिवारसँग हाँसीखुसी समय बिताउँथेँ । म घरमा शवगृहको कुरा कहिल्यै निकाल्थिनँ । किनकि त्यसले परिवारमा झन् तनाव बढाउँथ्यो,’ उनले भनिन् ।

काम सकिएपछि प्रकृतिको ढाड र खुट्टा असाध्यै दुखेका थिए, उनी शारीरिक रूपमा निकै थाकेकी थिइन् । तर, ३ सय ५० भन्दा बढी शव र अंगहरूको सफल व्यवस्थापन गरिसकेपछि उनलाई मनमा एउटा ठूलो सन्तुष्टि मिल्यो ।

सामाजिक सञ्जाल र समाजमा पनि सबैले उनको यो निस्वार्थ कामको ठूलो प्रशंसा गरे, सबैले ’गर्व छ’ भने । प्रकृति भन्छिन्, ‘मलाई यो काम गर्न पाएकोमा अहिले झन् बढी गर्व महसुस हुन्छ ।’

अहिले उनी फेरि भरतपुर-१०, अस्पताल रोडमा रहेको भरतपुर अस्पतालको आफ्नो नियमित ड्युटीमा फर्किसकेकी छन् । रसुवा बाढीले उनको मनमा एउटा कुरा गहिरो गरेर बसेको छ – जिन्दगीको केही भरोसा छैन, त्यसैले बाँचुञ्जेल सकेसम्म सबैलाई सहयोग गर्नुपर्छ । आफ्नो धर्म निस्वार्थ निर्वाह गर्नुपर्छ ।

यो कठिन घडीमा प्रकृतिजस्तै निरन्तर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकसहित सबै धन्यवादका पात्र हुन् ।


Read Previous

भोटेकोशी विपद्मा ज्यान गुमाएकाको सम्झनामा पशुपति र पर्यटन बोर्डमा दीप प्रज्ज्वलन

Read Next

पूँजी बजार सुधारका लागि कानुनी उपाय सुझाउन अर्थमन्त्री वाग्लेको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar