Nepal Purbadhar

भोटेकोशी विपद्मा ज्यान गुमाएकाको सम्झनामा पशुपति र पर्यटन बोर्डमा दीप प्रज्ज्वलन


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित देशभरका विभिन्न प्राकृतिक विपद्मा ज्यान गुमाएकाको सम्झनामा पशुपतिनाथ मन्दिर र नेपाल पर्यटन बोर्डमा दीप प्रज्ज्वलन गरिएको छ।

सोमबार साँझ नेपाल पर्यटन बोर्डमा पनि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ। कार्यक्रममा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र सकुशलताको कामना गरिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा भएको कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत सहभागी थिए।

गत २६ अगस्टमा नेपाल-चीन सीमा क्षेत्रबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीबाट सडक, पुल, बस्ती तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने पर्यटक तथा यात्रु पनि प्रभावित भएका छन्।

बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउन पर्यटन क्षेत्रका सरकारी तथा निजी निकायले संयुक्त रूपमा काम गरिरहेका छन्।

यस्तै, पशुपति क्षेत्र विकास कोषको आयोजनामा आइतबार साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्ज्वलन गरिएको थियो। दिवंगतप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा बाढीपहिरोमा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कार्यक्रम गरिएको कोषले जनाएको छ।

कार्यक्रममा बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् र खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामनासमेत गरिएको थियो। दीप प्रज्ज्वलनमा हजारौँ भक्तजन सहभागी भएका थिए। यसअघि पशुपतिनाथस्थित वाग्मती तटमा विभिन्न धर्मग्रन्थको पाठ पारायणसमेत गरिएको थियो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

दुर्गम क्षेत्रमा सेवा विस्तार गरेको भन्दै नेपाल हुलाकलाई एपीपीयू इनोभेसन अवार्ड प्रदान

Read Next

निडर प्रकृति, जो साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar