Nepal Purbadhar

दुर्गम क्षेत्रमा सेवा विस्तार गरेको भन्दै नेपाल हुलाकलाई एपीपीयू इनोभेसन अवार्ड प्रदान


काठमाडौं। दुर्गम क्षेत्रमा सरकारी कुरियर सेवाका रूपमा सेवा विस्तार गरेको भन्दै नेपाल हुलाकले एसिया प्रशान्त हुलाक संघ (एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ।

थाइल्याण्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म भएको १४औँ एपीपीयू कंग्रेसमा हुलाक सेवा विभागलाई ‘सर्भिस इन रिमोट एरियाज’ विधामा उक्त सम्मान प्रदान गरिएको हो। दुर्गम क्षेत्रसम्म सरकारी सेवा पुर्‍याउन नेपाल हुलाकले गरेको पहललाई अवार्डको आधार बनाइएको विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताइन्।

सरकारले शासकीय सुधारका १०० कार्यसूचीमार्फत हुलाकलाई परम्परागत सेवाबाट सरकारी कुरियर सेवामा रूपान्तरण गर्ने नीति लिएपछि महत्वपूर्ण सरकारी कागजात नागरिकको घरदैलोसम्म पुर्‍याउने सेवा विस्तार गरिएको छ। राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र तथा स्वास्थ्यसम्बन्धी रिपोर्टलगायत कागजात घरमै पुर्‍याउने सेवालाई विभागले प्राथमिकतामा राखेको छ।

कंग्रेसमा सहभागी नेपाली प्रतिनिधिमण्डलले हुलाक सेवाको आधुनिकीकरण, डिजिटल प्रणाली र सरकारका प्राथमिकताबारे जानकारी गराएको थियो। नेपालले सडक तथा सञ्चार पूर्वाधार कमजोर रहेका दुर्गम क्षेत्रमा भरपर्दो सेवा विस्तारका लागि पूर्वाधार सुधार भइरहेको जानकारी पनि गराएको थियो।

त्यस्तै, नेपाली स्थानीय तथा मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन हुलाक सञ्जाललाई विद्युतीय व्यापारसँग जोड्नुपर्ने विषय नेपालले उठाएको थियो। साना उद्यमी, किसान तथा ग्रामीण समुदायका उत्पादनलाई एसिया प्रशान्त क्षेत्र हुँदै विश्व बजारसम्म पुर्‍याउन क्षेत्रीय सहकार्य आवश्यक रहेको नेपालको धारणा थियो।

कंग्रेसमा नेपाललाई विशेष समय उपलब्ध गराइएको थियो। सो क्रममा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै विपद्का बेला सडक, पुल तथा दूरसञ्चार सेवा अवरुद्ध हुँदा हुलाक सञ्जालको महत्व अझ बढ्ने बताइएको थियो।

नेपालले आधुनिक, भरपर्दो, समावेशी र नागरिककेन्द्रित हुलाक प्रणाली निर्माणका लागि प्रविधि हस्तान्तरण, कर्मचारी क्षमता विकास, डिजिटल प्रणाली, विद्युतीय व्यापार तथा विपद् प्रतिरोधी पूर्वाधारमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याएको छ।


Read Previous

सप्तरंगी इन्द्रेणी बौद्ध समाजद्वारा राहात कोषमा २ लाख १ हजार सहयोग, ऊर्जामन्त्रीले बुझे चेक

Read Next

भोटेकोशी विपद्मा ज्यान गुमाएकाको सम्झनामा पशुपति र पर्यटन बोर्डमा दीप प्रज्ज्वलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar