Nepal Purbadhar

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डः उपराष्ट्रपति यादव


काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित भइसकेको बताएका छन्। उनले विद्युतीय सवारीसाधनको प्रयोग बढाउँदै नेपालमा नै सवारीसाधन तथा पार्टपुर्जा उत्पादन र एसेम्बल उद्योगको विकास गर्नुपर्नेमा जोड दिए।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको १८औँ संस्करणको नाडा अटो शो २०२६ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत् उत्पादन बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनले बताए। इन्धन आयातमा बाहिरिने ठूलो रकम रोक्न विद्युतीय सवारीसाधन उपयुक्त विकल्प भएको उनको भनाइ थियो।

नेपालमै अटोमोबाइल उत्पादनको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यका साथ अघि बढ्न नाडालाई आग्रह गरे। वातावरणमैत्री र प्रविधिमैत्री यातायात प्रणालीका लागि चार्जिङ स्टेसनलगायत पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।

उपराष्ट्रपति यादवले नाडा अटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउन, उद्यमशीलता प्रवर्द्धन गर्न तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रबाट गत वर्ष राज्यलाई ८१ अर्ब रुपैयाँ राजस्व योगदान भएको बताए। कुल राजस्वको करिब ८ देखि ९ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताका वस्तुको व्यापारका रूपमा मात्र हेर्न नहुने उनले बताए।

श्रेष्ठले आयातमा मात्र निर्भर नभई नेपालमै सवारीसाधन र पार्टपुर्जाको एसेम्बल तथा उत्पादन सुरू गर्नुपर्ने बताए। स्वदेशमै उत्पादनमूलक क्षेत्र विस्तार गरेर युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनी आयोजना गर्न उपयुक्त पूर्वाधारको अभाव रहेको बताए। भृकुटीमण्डपको वर्तमान संरचना ठूला ट्रक, बस तथा उपकरण प्रदर्शनका लागि पर्याप्त नभएकाले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्ने उनले बताए।

उप्रेतीले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार र नेपालमै एसेम्बल उद्योग स्थापना गर्न नीतिगत स्पष्टता तथा सहुलियत आवश्यक रहेको बताए।

नाडा स्थापना भएको ५० वर्षको अवसरमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ सुरू भएको नाडा अटो शो भदौ १४ गतेसम्म सञ्चालन हुनेछ।


Read Previous

अप्रिलियाको एसआर १७५ स्कुटर नेपालमा सार्वजनिक, मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar