
नवलपरासी। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ। नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खायाममा पनि यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो।
गत वर्ष सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम वा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यस वर्ष भने त्यस्तो अवस्था दोहोरिएको छैन। दैनिक यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतको तुलनामा निकै सुधारिएको बताउँछन्।
नारायणघाट-बुटवल सडक आयोजना (पूर्वी खण्ड)का अनुसार मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज बनेको हो। अहिलेसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ। अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन्। विगतमा जस्तो निर्माणका कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ।
पूर्व-पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट-बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा र अन्य सहायक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। सानातिना काम अझै जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा घण्टौँ सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन।
