
काठमाडौं । देशभर दर्ता भएका सहकारी संस्थाको संख्या ३२ हजार ३२५ पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुन मसान्तसम्म यो तथ्यांक रहेको हो।
सर्वेक्षणका अनुसार सहकारी क्षेत्रमा हालसम्म १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ भने ८२ हजार २१६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा २०८२ फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१ असार मसान्तसम्म यस्तो संख्या १८ हजार ८९७ रहेको थियो।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको जनाएको छ।
समस्याग्रस्त घोषित सहकारीमध्ये २३ मध्ये तीन संस्थाको राफसाफ गरिएको छ भने बाँकी २० सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया बाँकी रहेको उल्लेख छ।
त्यस्तै, विभिन्न चरणमा कुल ८० हजार ८७ दाबीकर्ताबाट ४७ अर्ब ६० करोड १३ लाख रुपैयाँ माग दाबी दर्ता भएको छ। तीमध्ये हालसम्म तीन हजार ६८८ दाबीकर्तालाई पूर्ण रूपमा दुई अर्ब ५४ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिएको छ।
चालु आर्थिक वर्षको फागुनसम्म थप आठ हजार ७६३ दाबीकर्तालाई १२ करोड २३ लाख रुपैयाँ फिर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ।
