
फाईल तस्बीर।
बागमती। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले आर्थिक संकटका कारण बन्द अवस्थामा पुगेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन्।
शनिबार उद्योगको निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वको सिमेन्ट उद्योग बन्द हुनु दुःखद् भएको भन्दै यसको समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाइने बताए।
उनले निजी क्षेत्रका उद्योग नियमित चलिरहेका बेला सरकारी उद्योग बन्द हुनु राम्रो संकेत नभएको उल्लेख गर्दै हेटौँडा सिमेन्ट उद्योग कसरी निरन्तर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए।
मन्त्री यादवका अनुसार उद्योग बन्द हुँदा रोजगारी गुम्नुका साथै देशको अर्थतन्त्रमा पनि असर पर्ने भएकाले सरकारले उद्योग सञ्चालनलाई प्राथमिकतामा राखेको छ। उनले उद्योग नियमित सञ्चालनका लागि व्यवस्थापन र कर्मचारीको सहकार्य आवश्यक रहने बताए।
कार्यक्रममा उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साह ले पुराना तथा जीर्ण मेसिन, कच्चा पदार्थको अभाव र आर्थिक समस्याका कारण उद्योग सञ्चालन प्रभावित भएको जानकारी दिए।
उनका अनुसार उद्योगले समय–समयमा मर्मत गरेर सीमित उत्पादन गर्दै आएको भए पनि पछिल्लो समय कच्चा पदार्थ आपूर्ति हुन नसक्दा उत्पादन बन्द भएको हो। आर्थिक संकटका कारण कर्मचारीले ११ महिनादेखि तलबभत्ता नपाएको, कच्चा पदार्थ आपूर्तिकर्ताको बक्यौता तिर्न नसकिएको तथा विद्युत् महसुल भुक्तानीमा समेत समस्या रहेको उनले बताए।
तत्काल आर्थिक समस्या समाधान गर्न सके उद्योग पुनः सञ्चालन गर्न सकिने उद्योग व्यवस्थापनको भनाइ छ।
वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। अहिले उद्योगका अधिकांश उपकरण पुराना भइसकेकाले उत्पादन क्षमता घट्दै गएको प्राविधिकहरूले बताएका छन्।
