Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

डेढ महिनामा सुनकोसी मरिनकाे सुरुङ ब्रेकथ्रु हुने,१२ किलोमिटर खनेर सकियाे   


काठमाडाैं । तराई मधेसमा १२ महिना  सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण सुरु गरिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ पूरा हुने चरणमा पुगेकाे छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रयाेग गरिएकाे परियाेजनाकाे १३.३ किलाेमिटर सुरुङ खनेर सकिन लागेकाे हाे ।

विविध समस्या झेल्दै अहिलेसम्ममा  १२.७९ किलाेमिटर सुरुङ खनेर सकिएकाे परियाेजना प्रमुख मित्र बरालले बताए । उनका अनुसार कुनै भौगोलिक जटिलता उत्पन्न नभएमा अबकाे डेढ महिनाभित्र मुख्य सुरुङ निर्माण सम्पन्न हुनेछ ।

 “परियाेजनाकाे सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कुनै भौर्गभिक जटिलता उत्पन्न नभएको खण्डमा डेढ महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौं”,  बरालले भने ।  केही समयअघि सुरुङ मार्गमा देखिएकाे कमजाेर भाैगाेलिक अवस्थाका कारण सुख्खा पहिराे खस्दा २ महिनासम्म काम ठप्प हुन पुगेकाे थियाे । विज्ञ प्राविधिक टाेलीले समस्या समाधान गरेपछि पुनः सुरुङ निर्माणकाे काम सुचारु गरिएकाे थियाे ।

अहिले बिना अवराेध सुरुङ निर्माणकाे काम भइरहेकाे बरालले बताए । निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजिकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।

 मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला सुनकाेसी मरिनकाे प्रगति सन्ताेषजनकरूपमा अगाडि बढेकाे छ । नेपालमा पनि यो गतिमा यसरी काम हुन सक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् ।

परियाेजना निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् । सुरुङ खन्दै जाँदा चुरे र महाभारत पर्वत शृङ्खलाका बीचमा समस्या देखिँदा केही दिन प्रभावित भएको थियो । त्यसलाई समाधान गरेर हाल नियमित रुपमा सुरुङ खन्ने काम भइरहेको आयोजना प्रमुख बरालको भनाइ छ ।

बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो परियाेजनामा कूल १३.३  किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि याे परियाेजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । यसबाट अन्य परियाेजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ । सुनकोसी नदीको पानी मरिन खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको याे परियाेजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ ।

निर्माण व्यवसायीले काम गरिरहेको भएपनि बाँध निर्माणमा अपेक्षित प्रगत भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । त्यो स्वीकृतिको अन्तिम चरणमा छ । यस्तै जलविद्युत उत्पादनका लागि हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको बरालले जानकारी दिए ।

सुरुङ निर्माण सम्पन्न हुने अरु काम भने अगाडि नबढ्ने प्रवृत्ति देखिएको छ । भेरी–बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा परियाेजनाका सम्बद्ध अधिकारी छैनन् । यद्यपि परियाेजनाको अन्य कामलाई गति दिन मन्त्रालयले आयोजनाका सम्बद्ध अधिकारी र निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिइसकेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

सुनकोसी मरिन डाइभर्सन परियाेजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई ९ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इजिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी बैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्याउने लक्ष्य राखिएको छ । बैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ ।

यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेसका कूल १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

राष्ट्रिय गौरवकाे परियाेजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको बरालले बताए ।

सुनकोसी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन खोलामा खसालिनेछ ।

त्यसपछि, बागमती सिँचाइ परियाेजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, याे परियाेजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

परियाेजनाकाे सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भेरी बबई डाइभर्सन परियाेजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

याे परियाेजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक बदलाव आउने सरकारको विश्वास छ ।

आर्थिक वर्ष २०६८/६९ मा भेरी–बबई डाइभर्सन परियाेजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको संज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शङ्का गर्ने पनि उत्तिकै थिए ।

संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै मेहेनत गर्नुपरेको सम्बद्ध अधिकारीको भनाइ छ । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखिएपछि सुनकोशी मरिणमा पनि टिबीएमको प्रयोग गरिएको हो ।

‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । भेरी बबईमा डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य परियाेजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ । दुधकोशी अर्धजलाशयुक्त परियाेजनाको सुरुङमा समेत टिबिएमको प्रयोग गर्ने बारेमा प्रारम्भिक छलफल भएको छ ।


Read Previous

माथिल्लाे अरुण र दूधकाेसी आयोजनामा लगानीबारे अर्थमन्त्री पुन र विश्व बैंकका ३ उपाध्यक्षबीच छलफल   

Read Next

बेनी-जोमसोम-कोरला सडक खण्डकाे पहिरो नियन्त्रण गर्न छैन बजेट

Leave a Reply

Your email address will not be published.