Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु


बागलुङ । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले याे सडक स्तरोन्नति सुरु गरिएको हो ।

राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको सो सडकलाई ‘कृषि सडक’ नामकरण गरी स्तरोन्नति सुरु गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । सो सडकखण्डले नगरपालिकाका ६ वटा वडालाई समेटेको छ ।

कुश्मिसेरा, सकुर्वा, बिनामारे, अर्जेव, जैदी र छिस्ती समेटिएको ४३ किमि सडकलाई पक्की बनाउन बजेट विनियोजनका लागि सङ्घीय सरकारमार्फत दातृ निकायमा स्वीकृतिका लागि पठाइएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

सडक स्तरोन्नतिका लागि गतवर्ष घुम्ती सडक ढलान, नाली निर्माण, पहिरो व्यवस्थापन गरिएको थियो भने हाल सकुर्वाबाट अर्जेवातर्फ ३५ लाख रुपैयाँ बिनियोजन भइ स्तरोन्नति भइरहेको छ । साथै छिस्तीतर्फबाट  ५५ लाख रुपैयाँ बजेट बिनियोजन भइ स्तरोन्नति भइरहेको छ ।

“स्थानीय पूर्वाधार विभागको बजेटबाट सकुर्वाबाट अर्जेवातर्फको सडक स्तरोन्नति भइरहेको छ, छिस्तीमा समेत सडक बोर्ड र जैमिनी नगरपालिकाको साझेदारीमा सडक मर्मत भइरहेको छ”, उनले भने, “हाम्रै कार्यकालयमा ३४ किमि समेटिएको जैमिनीको मेरुदण्डको रुपमा रहेको कृषि सडक कालोपत्र गछौँ, अहिले दातृनिकायको सहयोगमा उक्त सडक कालोपत्र गर्नका लागि स्वीकृतिको तयारीमा छ ।” उनले याे सडक कालोपत्र गर्न ५० करोड रुपैयाँ बजेट आवश्यक भएको बताए ।

कृषि सडकका कारण यहाँका किसान लाभान्वित भएको सर्कुवाका किसान बाबुराम पौडेल बताए । यहाँका कृषि उत्पादनलाई बजारसँग जोड्न कृषि सडकले महत्त्वपूर्ण योगदान गरेको भन्दै उक्त सडक पक्की भए झनै सहज हुने पौडेलले धारणा राखे । “जैमिनी कृषिमा उर्भरभूमि हो, यहाँको सुन्तला, तरकारीलगायत अन्य कृषि उपजको बजारीकरणका लागि सडकले सहज बनाएको छ”, उनले भने ।

सकुर्वातर्फ श्रीमन इन्टरप्राइजेजले ठेक्का सम्झौता गरी एक महिनादेखि स्तरोन्नतिको काम गरिरहेको सो कम्पनीका प्रतिनिधि नीराजन खतिवडाले बताए । एक महिनादेखि कृषि सडकको स्तरोन्नति भइरहेको उनकाे भनाइ छ ।


Read Previous

सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण   

Read Next

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन   

Leave a Reply

Your email address will not be published.