काठमाडौं । नेपालमा (असार २०७९ सम्म) प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशकाे संख्या ५७ पुगेकाे तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशहरूमध्ये सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड लगानी भएको छ ।
त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्याण्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्यांकमा उल्लेख छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २६४ अर्ब ३३ करोड कायम भएको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ ।
यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्य यो सर्वेक्षण गरेको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ तयार पारिएको हो ।