काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण हुने १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी जलविद्युत आयोजनाको वातावरणीय अध्ययन मुल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृति हुने प्रक्रियाको अन्तिम चरणमा पुगेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको इआइए प्रतिवेदन स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो ।
मन्त्रालयले आयोजनाको इआइए प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । मन्त्रालयले सूचना प्रकाशित भएको मिति (२०८०, साउन १५ गते) ले ७ दिन भित्र प्राप्त भइसक्ने गरी राय/सुझाव पेश गरिसक्न सम्बन्धित सरोकारवाला समक्ष आग्रह गरेको छ ।
इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले प्रवद्र्धन गरेको आयोजना निर्माण हुँदा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको वडा नम्बर–२ र ३ प्रभावित हुने छन् । कम्पनीले पेश गरेको इआइए प्रतिवेदन अनुसार आयोजना निर्माण गर्दा ८.८ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ ।
यो आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको टुंगो पनि लागिसकेको छ । यो आयोजना निर्माण गर्न ३ अर्ब १२ करोड ४१ खाल ६२ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाले २ अर्ब ३४ करोड रुपैयाँ ऋण लगानी गर्दैछन् । ७८ करोड ४१ लाख ६२ हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।
अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक निर्माणको काम अन्तिम चरणमा पुगेको प्रवद्र्धक कम्पनीले जनाएको छ । आयोजना स्थल दुर्गम क्षेत्रमा पर्ने हुँदा प्रवद्र्धक कम्पनीले १६ किलोमिटर पहुँच सडक निर्माण गरिरहेको छ ।
पहुँच सडकको निर्माण सम्पन्न हुनासाथ आयोजनाको संरचना निर्माणको काम सुरु गर्ने कम्पनीको योजना छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ८९.०९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यो आयोजनाले उत्पादन गर्ने विद्युत ब्रम्हायणी आयोजनाको स्वीचयार्डसम्म पुर्याइ त्यहाँबाट पाङताङ्ग सबस्टेसन पुर्याइने कम्पनीले जनाएको छ ।
माथिल्लो ब्रम्हायणी आयोजनामा लगानी गर्ने समूहले नै ३६.५२ मेगावाटको ब्रम्हायणी आयोजना पनि निर्माण गर्दैछ । यो आयोजनाको समेत पिपिए भई वित्तीय स्रोत व्यवस्थापन भइसकेको छ । यो आयोजना ब्रम्हायणी हाइड्रोपावर कम्पनीले अगाडि बढाएको छ ।
पहुँच सडक पुगेपछि नै यो आयोजनाको निर्माण सुरु गर्ने कम्पनीको तयारी छ ।
यो आयोजना सम्पन्न गर्न ७ अर्ब ३४ करोड १ लाख १६ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । जसमध्ये साढे ५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने गरी सम्झौता भइसकेको छ । १ अर्ब ८४ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।
ब्रम्हायणी आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक २१५।५३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यो आयोजनाले उत्पादन गर्ने विद्युत प्रस्तावित पाङताङ्ग सबस्टेसनमा जोडिनेछ । यो सबस्टेसनसम्म आयोजनाको विद्युत पुर्याउन प्रवर्द्धक कम्पनीले १४ किलोमिटर प्रसारण लाइन निर्माण गर्नेछ ।