काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेण्ट कम्पनी (एचआइडीसीएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले आगामी दिनमा जलविद्युत परियोजनाको लाइसेन्स लिएर आयोजना निर्माण गर्नेभन्दा पनि वित्तीय लगानीमा केन्द्रित हुने बताएका छन् ।
नवनिर्वाचित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीलाई विहीबार स्वागत गर्दै उनले कम्पनी वित्तीय सहयात्री र असल लगानीकर्ताको रुपमा अघि बढेको बताए । ‘अबका दिनमा एचआइडीसीएलले लाइसेन्स लिदैन, ऊर्जामा लगानी मात्र गर्नेछ’ उनले भने । अब एचआइडीसीएल र इप्पानबीच लगानी साझेदारीको रुपमा सम्बन्ध अघि बढाउनुपर्नेमा जोड सिइओ गौतमले जोड दिए ।
मुलुकलाई जलविद्युतमैत्री बनाउने हो भने वित्तीय अभाव र अन्तरलाई पूर्णता दिइ समस्या समाधानमा संस्था केन्द्रित हुने सिइओ गौतमको भनाइ छ । जलविद्यु्तमा केन्द्रित गरी कम्पनीलाई जारी पुँजी २५ अर्ब १५० अर्ब रुपैयाँ बनाउने लक्ष्य रहेको जानकारी दिए । ऊर्जामा छोटो समयको लागि भन्दा पनि दीर्घकालीन लगानी गर्दा उत्तम हुने गौतमको भनाइ छ।
भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले दुई संस्था मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणपछि १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने विषय महत्वपूर्ण रहेको छ, साथै, विद्युत खरिद सम्झौता (पीपीए) खोल्ने सम्बन्धमा पनि यो उत्तम अवसर हो’ उनले भने । उनले लगानीमैत्री वातावरण बनाउनुपर्ने र लगानीको ब्याजदर वृद्धिले ठूलो समस्या भइरहेको उल्लेख गरे ।
विश्व बैंक, आइएफसी, एशियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमार्फत लगानी ल्याउन लामो समय लाग्ने भएकाले एचआइडीसीएलले भुमिका खेलेमा त्यस्तो लगानी ल्याउन सहज र छिटो हुने अध्यक्ष कार्कीको भनाइ छ । यसले विश्वासिलो आर्थिक लगानीमैत्री वातावरण बनाउन सहयोग पुग्नेछ ।भेटमा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डांगीले बाहिरबाट सहुलियत कर्जा ल्याएर देशमा लगानी गर्न सकिएको खण्डमा धेरै राम्रो हुने उल्लेख गरे ।