Nepal Purbadhar

निसीखोलामा थपिँदै ८ झोलुंगे पुल


बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुंगे पुल बन्दै छन्। अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुंगे पुल निर्माण गरिएका थिए।

संघीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए। उनी भन्छन्, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन् ।’ वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ।

स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए। पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ। ‘स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ,’ उनले भने।

अघिल्लो वर्ष निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नं ७ को कुतखोलाघाट, वडा नं ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नं १ को माराघाट तथा वडा नं २ धौलेघाटमा पुल निर्माण गरिएको थियो। दुई करोड पाँच लाख रुपैयाँको लागतमा ती पुल निर्माण गरिएका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। यस वर्ष तीन करोड ६४ लाख रुपैयाँको लागतमा आठ पुल निर्माण भइरहेका छन्।


Read Previous

चैत १४ र १५ मा आठौं ऊर्जा सम्मेलन, ५ हजार मेगावाटका परियोजना प्रदर्शनमा राखिने

Read Next

मोलुङ हाइड्रोपावरको आइपीओ बिक्री खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar