माईधार । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखामा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नदीको तटमा अवस्थित दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्ने पुग्ने पर्यटककाे लर्को लाग्न थालेको हाे ।
प्रदेश–१ को प्रमुखमध्येको एक पर्यटकीय गन्तव्य दाेमुखामा धमाधम पूर्वाधार निर्माण थपिएसँगै पर्यटकको थप रोजाइमा पर्न थालेकाे दोमुखा पर्यटन विकास समितिले जनाएकाे छ । समितिका अनुसार हिउँदयाम सुरु भएसँगै यहाँ दर्जनौँ वनभोज खाने टोली दाेमुखा आउने गरेका छन् ।
वनभोजको सिजनमा यहाँ दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेकाे समितिका उपाध्यक्ष रमेश तिम्सिनाले बताए । उनले पर्यटकीय क्षेत्र दोमुखालाई नै लक्षित गरी यहाँ शिवसताक्षी नगरपालिकाले नगरकै सबैभन्दा बढी बजेट विनियोजन गरेको बताए ।
चालू वर्षमा दोमुखा क्षेत्रकाे विकासका लागि ६ करोड रुपैयाँ बजेट राखिएकाे शिवसताक्षी नगरपालिका नगरप्रमुख रोशन थोप्राले बताए । उनले विनियाेजित बजेटमध्ये ५ करोड रुपैयाँ लागतमा दुमुखा पुग्ने करिब ३ किलोमिटर सडक कालोपत्रे हुन लागेकाे बताए ।
पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको २ किलोमिटर ९ सय मिटर सडक कालोपत्रे हुन लागेकाे उनले बताए । सडक पूर्वाधार निर्माणका लागि बोलपत्र आह्वान भइसकेको थाेप्राले जानकारी दिए ।
यो सडक कालोपत्रे भएपछि पूर्वी नेपालका साथै सीमावर्ती सँगै भारतका पर्यटकसमेत दाेमुखाकाे भ्रमणमा आउने अपेक्षा नगरपालिकाले गरेकाे छ । दोमुखा पर्यटकीय क्षेत्रमा बाल उद्यान र सङ्ग्रहालयसमेत निर्माणाधीन छ । निर्माणाधीन बाल उद्यानका लागि स्वीमिङ पुल निर्माणका लागि नगरपालिकाले ४५ लाख रुपैयाँ छुट्याएको छ ।
यसैगरी, दोमुखामा पर्यटकको थप आकर्षणका लागि बहुसांस्कृतिक सङ्ग्रहालय पनि बनिरहेको छ । सोही सङ्ग्रहालयका लागि थप १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
कन्काई नदीबाट नहर सुरुआत गरी बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन भएका छन् । यो स्थानमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, बिहारलगायतका स्थानबाट समेत पर्यटक आउने गरेका छन् ।