काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण सुरु हुँदैछ । परिसंघले सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएकोमा यो चौथो सम्मेलन हो ।
‘इन्फ्रास्टक्चर फर ग्रोथ’ भन्ने नारासहित आयोजना गर्न लागेको सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ ।
सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने परिसंघले जनाएको छ ।
संघका अनुसार, पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।
सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका मेयरहरु, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, प्राध्यापकहरुको प्रस्तुती हुनेछ ।