Nepal Purbadhar

कुहिरोसँग लुकामारी खेलिरहेको ऐतिहासिक स्थल सिन्धुलीगढी


काठमाडौं । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी आन्तरिक पर्यटकका लागि राम्रो घुमफिर गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्यका साथै नेपालको इतिहास बुझ्न पनि मानिसहरु यहाँ पुग्ने गर्छन् । मानिसहरु फोटो/भिडियो खिचेर रमाइरहेका देखिन्छन् । 

काठमाडौं, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै पुग्ने भएपछि गढी आउने पर्यटक बढेका हुन् । 

इष्ट इण्डिया कम्पनीका फौजसँग नेपाली फौजले घमासान युद्ध गरी विजयी हासिल गरेको ऐतिहासिक स्थल हो सिन्धुलीगढी ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाढीबाट करिब १६ किमी उत्तरतर्फ रहेको सिन्धुलीगढी चारैतिर हरियाली फाँटको बीचमा अवस्थित छ । बर्खा सिजनमा यो ठाउँ कुहिरोसँग लुकामारी खेलिरहेको हुन्छ । यो ठाउँ काठमाडौंबाट करिब १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।

सिन्धुलीगढीमा सानो र ठूलो गरी दुईवटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानी संकलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास रहेको छ । 

सिन्धुलीगढीको प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५–२० मिनेट उकालो चढेपछि गढीको मुख्य द्वारमा पुगिन्छ । गढीको माथिल्लो भागमा एउटा जीर्ण तथा सुख्खा इनार देख्न सकिन्छ । युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिन्थ्यो । अन्य थुप्रै ऐतिहासिक स्थलहरु यहाँ रहेका छन् । 

गढीको उत्तरतर्फ गौरीशंकर हिमालको पृष्ठभूमिमा तामाकोशी नदी बगेको देखिन्छ भने दक्षिणतर्फ हरियाली वनले ढाकेको चुरे पहाडसँगै तराईको समथर मैदान अवस्थित छ ।


Read Previous

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

Read Next

निषेधित क्षेत्रमा नेविसंघको प्रदर्शन, १० जना समातिए

Nepal Purbadhar