Nepal Purbadhar

कतारस्थित अमेरिकी सैन्य एयरबेसमा इरानको हमला


काठमाडौं । इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा हमला गरेको छ । 

गत साता अमेरिकाले इरानका परमाणु केन्द्रहरुमा गरेको हमलाको जवाफका रुपमा इरानले कतारस्थित अमेरिकी एयरबेसमा हमला गरेको हो । 

सामाजिक सञ्जालमा देखिएका भिडियोहरुमा कतारको राजधानी दोहाको आकाशमा बमबारी भइरहेको र त्यहाँको प्रतिरक्षा प्रणालीले मिसायलहरुलाई रोक्न खोजिरहेको देखिन्छ । इरानले प्रहार गरेका मिसायलहरुले कतारमा रहेको अमेरिकी मध्यपुर्वको सैन्य बेसलाई निशाना बनाएको छ । अल-उदैदस्थित एयरबेसमा गरिएको यो हमलाले मध्यपूर्वमा बढ्दै गएको तनाव झन लम्बिने देखिएको छ । 

इरानले गरेको आक्रमणलाई सुरुवातमा इरानी सरकारी सञ्चारमाध्यम र पछि त्यहाँको सेनाले पनि आक्रमणलाई प्रमाणित गरेको छ । 

अल-उदैदस्थित अमेरिकी सैन्य बेस मध्यपुर्वका लागि अमेरिकाले गर्ने हवाई क्रियाकलाप हेडक्वाटरका रुपमा रहेको छ । कतिपय बेलायती सैनिकहरुले पनि यहाँ समय समयमा आएर काम गर्ने गरेका छन् । 

अमेरिकाले सोमबार इरानले गरेको आक्रमणको नजिकबाट विश्लेषण गर्ने र आफ्ना नागरिकहरुलाई सुरक्षित हुन पनि भनेको छ । साथै, इरानले हमलाभन्दा अघि जानकारी दिएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद भनेका छन् । उनले ‘अग्रिम सुचना दिएकोमा धन्यवाद, यसले कसैको पनि ज्यान नजान र कोही पनि घाइते नहुन सम्भव भयो’ भन्दै इरानप्रति कृतज्ञता प्रकट गरेका छन् ।

अमेरिका, इरान र इजरायलबीचको यो पछिल्लो द्वन्द्वका कारण मध्यपुर्व केही समययता तनावग्रस्त भएको छ । मध्यपुर्वका प्राय देशहरुले पछिल्ला केही दिनयता आफ्नो हवाई उडान बन्द गर्नेदेखि आफ्ना जनतालाई सुरक्षित बस्न भनिसकेका छन् । 


Read Previous

बजेटमा ‘टेक एण्ड पे पीपीए’ दुर्भाग्यपूर्ण

Read Next

कतारमा रहेका नेपालीलाई सतर्क रहन दुतावासको आग्रह

Nepal Purbadhar