Nepal Purbadhar

भरतपुर-माडी-ठोरी सडककाे मर्मत सुरु   


भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ । भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मर्मत गर्न थालिएको हो ।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको बताइन् । “रिउ पुलबाट कसरासम्म मंगलबारदेखि मर्मत सुरु भएको छ”, उनले भनिन्, “सडक डिभिजनसँग मर्मतका लागि केही बजेट रहेछ, त्यसबाटै हुन लागेको हो ।”

चैतेदसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने विक्रम बाबाको मेला पनि सुरु भइसकेको छ । उनले माडीका बासिन्दालाई मेला आउनका लागि सडक मर्मतपछि सहज हुने बताइन् ।

हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ ।

निकुञ्जभित्रको बाटो कालोपत्र गर्न नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ । निकुञ्जको कानुनी अड्चनका कारण यो सडक कालोपत्र हुनसकेको छैन । यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।


Read Previous

राहुघाट मंगले जलविद्युत आयोजनाको सुरुङ पूरा   

Read Next

ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो