Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा 


काभ्रे । ‘स्मार्ट नगर’उन्मुख पर्यटकीय नगर धुलिखेलका स्थानीयले नगरका सेवा घरबाटै लिन थालेका छन् । नगरपालिका कार्यालयले सूचना, सञ्चार तथा प्रविधि (आइसिटी)मा आधारित सेवा प्रवाह गरी नागरिकलाई घरबाटै सेवा दिलाउन थालेको हाे ।

नगर विकास कोषबाट ईयु (एसिया प्यासिफिक अन्तर्राष्ट्रिय साझेदार)को सहयोगमा स्मार्ट सहरको अवधारणाअनुसार हरेक कार्यलाई प्रविधिसँग जोडिरहेको धुलिखेल नगरमा वित्त क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत सूचना प्रविधिमा आधारित सेवा प्रवाहका लागि सहकार्य सम्झौता भई सेवा सुरु गरिएको हो ।

आइसिटीमा आधारित नगर सेवा प्रणाली सञ्चालन गर्न स्थानीय नागरिकलाई घरमै बसेर सबै सेवा लिन सकिने प्रणाली कार्यान्वयनमा ल्याइएको छ । स्मार्ट सहरका रुपमा विकास गर्न नगरपालिकाले प्रदान गर्ने हरेक सेवालाई प्रविधीमैत्री बनाउने अभियानमा उक्त कार्यक्रम थप प्रभावकारी र सहयोगी बन्ने नगर प्रमुख अशोक ब्याञ्जूले बताए ।

ब्याञ्जूका अनुसार राजस्व तथा अन्य सेवामासमेत डिजिटल सेवा भइसकेको छ । यस्तै धुलिखेलले हाल डिजिटल घर नं प्रणालीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । ब्याञ्जूले डिजिटल घर नम्बर प्रणालीमा रहने ‘क्यूआर–कोड’मा सम्बन्धित घर कहाँ छ, घर केबाट बनेको छ, कति तलाको छ भन्नेलगायतका सम्पूर्ण विवरण उपलब्ध हुने बताए ।

“यो प्रविधि लागू भएपछि आगलागी हुँदा, चोरी हुँदा र मानिस बिरामी परेको समयमा दमकल, प्रहरी र एम्बुलेन्सलाई ‘लोकेशन’का लागि पटकपटक सोधिरहनु पर्दैन”, उनले भने । यस्तै क्यूआर–कोडमार्फत नगरपालिकामा कति घर बनेका छन, कस्तो प्रकारको घर बनेको छ, राजरुव तिरे–नतिरेकोसमेत थाहा पाउन सकिन्छ ।

“डिजिटल घर नम्बर प्रणालीले नागरिकले घरमा नै बसेर सहज रूपमा सेवा प्राप्त गर्नेछन्, यसले समयको समेत बचत हुनेछ ,”उनले भने । धुलिखेलका ८ वडामा क्यूआर–कोडसहितको घर नम्बर प्रणाली जडान गर्न थालिएको छ भने अन्य वडामा सम्पूर्ण कार्य सकिएको छ । जडान थालिएको वडामा चालु आर्थिक वर्षभित्र सक्ने योजना बनाइएको छ । कार्यालयबाटै ड्रोन सर्भे गरेर घर नम्बर उपलब्ध गराइएको छ ।

धुलिखेलको वडा नं ४ का वडासचिव सङ्गीता चौलागाईँले घर नम्बर प्रणालीसहित प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताए । उनका अनुसार व्यक्तिगत घटना तथा पञ्जीकरणसम्बन्धी सम्पूर्ण काम अनलाइनबाट भइरहेको छ ।

यस्तै, नक्सापास, सम्पत्ति कर तिर्नेलगायतका काम पनि अनलाइनबाटै भइरहेको छ भने वडाबाट प्रवाह हुने सेवाको भौचर अनलाइनबाट काट्ने व्यवस्था गरिएको छ । “एकीकृत नगर सेवा प्रणाली पनि सञ्चालन हुँदैछ, यसले नागरिकलाई घरमै बसेर आफूलाई आवश्यक सेवा प्राप्त हुनेछन्”, चौलागाईँले भने । उनले जीआइएस् प्रणालीअन्तर्गत रहने यो प्रणाली आफैँ अपडेट हुने बताए ।

नगरपालिकाले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाइ आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलोमै पुर्याउने कामसमेत सकेको जनाएको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरपालिकाले सर्वेक्षण गरेको हो ।

केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ । नगरपालिकाले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि बढाइएको स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिए ।

यस्तै,नगरपालिकाले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । वैज्ञानिक माध्यमबाट नगरपालिकालाई दिगो रूपमा खाद्य हरियाली सहर बनाउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको थियो ।

उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगो रूपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ ।

खनिज तत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरको फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरपालिकाले जनाएको छ । ब्याञ्जूका अनुसार नगर क्षेत्रभित्र एक वर्षदेखि कोइला प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

धुलिखेल नगरलाई केही महिनाअघि शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणासमेत गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो ।

सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको जनाएको छ ।


Read Previous

मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै   

Read Next

निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

Leave a Reply

Your email address will not be published.