Nepal Purbadhar

आइतवार, फाल्गुन १३, २०८०
Sunday, February 25, 2024

आइतवार, फाल्गुन १३, २०८०
Sunday, February 25, 2024

संघीयतामा स्थानीयता सुहाउँदो अध्ययन र अध्यापन

फोटो सौजन्य: राजन कुमार खत्री


पाठ्यक्रम सिकाइको योजना हो । आशातित सिकाइ उपलब्धि प्राप्तिका लागि तयार पारिएको योजना नै पाठ्यक्रम हो । विद्यालयका सन्दर्भमा विद्यालयको भित्री र बाहिरी अवस्थामा अपेक्षित उपलब्धिहरू प्राप्त गर्न गरिने सम्पूर्ण प्रयासलाई नै पाठ्यक्रम भनिन्छ । नेपालमा विद्यालय तहमा केन्द्रिय निकायबाट निर्माण गरिएका पाठ्यक्रमहरू केन्द्रिय स्तरमा नै तयार पारिएका एकल पाठ्यपुस्तक मार्फत कार्यन्वयन हुदै आएको अवस्थामा राष्ट्रिय शिक्षा आयोग २०४९ पछि मात्र सिमित मात्रामा नीतिगत रुपमा स्थानीय पाठ्यक्रमको व्यवस्था गरियो । शुरुमा प्राथमिक विद्यालय (प्रा.वि.) तहमा १०० पूर्णाङ्क सम्मको साप्ताहिक ३ पाठ्यभारको मातृभाषा तथा स्थानीय विषयको व्यवस्था गरिएको थियो ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६२ ले कक्षा ५ सम्म उक्त विषयलाई साप्ताहिक ४ पाठ्यभारमा अध्यापन गराउने व्यवस्था गरियो साथै सामाजिक अध्ययन, सृजनात्मक कला तथा शारिरीक शिक्षामा २०/२० प्रतिशत भार स्थानीय अंशको रुपमा समावेस गर्ने व्यवस्था गरियो । आधारभूत शिक्षा कक्षा ६–८ को पाठ्यक्रम २०६९ मा साप्ताहिक ५ पाठ्यभार र १०० पूणाङ्कको मातृभाषा वा संस्कृत वा अन्य स्थानीय विषयलाई विस्तार गरेर समावेश गरिएको थियो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ तथा आधारभूत तहको विद्यमान पाठ्यक्रम संरचनामा आधारभूत तह (कक्षा १–३) मा मातृभाषिक सीप/स्थानीय विषय सम्बन्धी कृयाकलाप समावेश गरी वार्षिक ५ पाठ्यघण्टा अर्थात १६० कार्यघण्टा कायम गरेको छ । यसै गरी आधारभूत तहकै कक्षा ४–८ मा मातृभाषा वा अन्य कु्नै स्थानीय विषयबस्तु वार्षिक ४ पाठ्यघण्टा अर्थात १२८ कार्यघण्टा तोकिएको छ ।

स्थानीय पाठ्यक्रमको विकास

स्थानीय सरोकारवालाहरूको सहभागितामा स्थानीय आवश्यकता र स्थानीय विषयवस्तु समावेश गरी निर्माण एवम कार्यन्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ । अर्को शब्दमा स्थानीय पाठ्यक्रम भनेको राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेको विषयहरू समावेश गरी स्थानीय तहमा पठनपाठन गर्न तयार गरिएको मार्गचित्र हो । स्थानीय आवश्यकता, स्थानीय विषयवस्तुहरू एवम सहभागिता र विज्ञता स्थानीय पाठ्यक्रम निर्माणका आधारभूत पक्षहरू हुन । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा आधारभूत तह कक्षा ८ सम्म मातृभाषा वा स्थानीय पाठ्यक्रम विषय स्थानीय तहबाट निर्माण एवम् स्वीकृत गरी पठन पाठन गर्नुपर्ने व्यवस्था छ ।

भौगोलिक, सामाजिक, आर्थिक, सास्कृतिक, प्राकृतिक वा भाषिक विविधताले भरिपूर्ण रहेको हाम्रो देशमा प्रत्येक स्थानीय तहको आफ्नै मौलिक विशेषताहरू र परिस्थिति रहेको छ । नेपालको संविधान २०७२ ले माध्यामिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको र राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १–८ को लागि मातृभाषा वा स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्नु पर्ने अनिवार्य व्यवस्था गरेको सन्दर्भमा सबैलाई समेट्ने गरी स्थानीय आवश्यकता अनुसारको विषयवस्तुको पाठ्यक्रम निर्माण गरी लागु गर्नु स्थानीय तहको जिम्मेवारी समेत रहेको हुन्छ । सोही सन्दर्भमा बागमती प्रदेश, रामेछाप जिल्ला, उमाकुण्ड गाउँपालिकाले गरिरहेको अभ्यासलाई यहाँ विस्तृतमा उल्लेख गरिएको छ । उमाकुण्ड गापाले ‘हाम्रो उमाकुण्ड राम्रो उमाकुण्ड’ नामक स्थानीय पाठ्यक्रम विकास गरेको छ ।

राष्ट्रिय पाठ्यक्रमले यहाँको विशिष्ठ भूगोल, सामाजिक आर्थिक अवस्था, सांस्कृतिक परिवेश, जैविक विविधता, कृषि उत्पादन, पेशा, व्यवसाय, विशिष्ठ सम्पदालाई सम्बोधन गर्न नसक्ने भएकोले यस गाँउपालिकाको विद्यमान अवस्थाको जानकारी दिने र आशातित संभावनाहरू उजागर गर्ने उदेश्यले स्थानीय पाठ्यक्रमको रुपमा यस पाठ्यक्रमको तर्जुमा गरिएको छ । यस पाठ्यक्रमले प्रयोगकर्ता र यहाँ अध्ययन गर्ने बालबालिकाहरूलाई हाम्रो गाँउपालिकासंग परिचित गराउछ भने यहाँको कृषि उत्पादन र संभावनाहरूसंग साक्षात्कार गराउछ । यहाँको सामाजिक परिवेश, सांस्कृतिक सम्पदा, जीवन शैली, रहनसहन, भौगोलिक प्राकृतिक वातावरण, पेशा, व्यवसायहरूलाई विशेष प्रकाश पार्नेछ । यस पाठ्यक्रमले उमाकुण्ड गाँउपालिकाको मौलिक उत्पादन र संभावनाहरूको खोजी गरी यहाँका बालबालिकाहरूमा आफ्नो परिवेशको सन्दर्भमा आवश्यक ज्ञान र सीप विकास गराउने छ ।

स्थानीय पाठ्यक्रम निर्माण प्रकृया

नेपालको संविधान २०७२ अनुसार तथा संघीय संरचना मुताविक २०७४ सालमा स्थानीय सरकारको गठन हुनका साथै स्थानीय सरकार संचालन ऐन २०७४ पछि विकासका संन्तुलित अवधारणा बोकेका सचेत स्थानीय नेतृत्वबाट स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको होड नै चलेको थियो । स्थानीय तह अन्तर्गतका निर्वाचित जनप्रतिनिधिहरूको पहिलो कार्यकालमा नै मूलूकका धेरै पालिकाहरूले आफ्नो विशिष्ठ आवश्यकता र अवस्था अनुसार पाठ्यक्रमका विभिन्न खाका निर्माण गरी कार्यन्वयनमा ल्याएका छन । पाठ्यक्रम निर्माण र कार्यन्वयन गर्न त्यस्ता पालिकाहरूले यस कार्यलाई आफ्नो समग्र विकासको एउटा हिस्सा र योजनावद्ध विकास तथा सुशासनको एउटा अंङ्खको रुपमा लिएका थिए ।

जसरी पाठ्यक्रम निर्माण तथा परिमार्जन निरन्तर भैइरहने कार्य हो त्यस्तै, उत्कृष्ठ स्थानीय पाठ्यक्रमको विकास पनि निरन्तरको प्रयासबाट मात्र संभव छ भन्ने कुरालाई प्रगतीशिल नेतृत्व भएका पालिकाहरूले पुष्टि गर्न खोजेको देखिन्छ । यस कार्यमा अग्रसरता देखाइ धेरै पालिकाहरूले समग्र स्थानीय शिक्षाको स्पष्ट मोडालिटी तयार पारी आफ्नै विशेषताहरूका शैक्षिक कार्यक्रम लागु गरी अग्रणी पहिचान बनाएका पनि छन । उमाकुण्ड गापाले पनि स्थानीय सरकारको दोस्रो कार्यकालमा शिक्षा, युवा तथा खेलकुदको उत्कृष्ठ अग्रसरतामा परियोजनामा आधारित भइ कार्यदल मार्फत हाम्रो उमाकुण्ड राम्रो उमाकुण्ड नामक पाठ्यक्रमको प्रारम्भिक मस्यौदा तयार पार्न सफल भएको छ ।

स्थानीय पाठ्यक्रमको संरचना

हाम्रो उमाकुण्ड राम्रो उमाकुण्ड नामक प्रस्तावित यस पालिकाको स्थानीय पाठ्यक्रमको मूलभूत आधार तथा सिद्धान्तहरू राष्ट्रिय पाठ्यक्रम प्रारुपका सिद्धान्तहरूबाट भिन्न छैन । यस पाठ्यक्रमका सैद्धान्तिक मार्ग निर्देशन नेपालको संविधान २०७२, स्थानीय सरकार संचालन ऐन २०७४, पन्ध्रौं पञ्चवर्षीय योजना, अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ आदि हुन भने मूल मार्गदर्शक आधार राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र अन्य शिक्षा निर्देशिकाहरू तथा प्रारुपहरू समेत हुन ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार आधारभूत तह कक्षा १–३ सम्म एकीकृत पाठ्यक्रम ढाँचा नै हुने छ । यस पाठ्यक्रममा अलग अलग शिर्षकमा विषय विस्तृतिकरण भएता पनि मिल्दा विषयहरू सिकाइ क्षेत्र (थीम) अनुसार नै सञ्चालन गरिने छ । कक्षा १–३ का लागि वार्षिक ५ पाठ्यघण्टा अर्थात १६० कार्यघण्टा तोकी सोही अनुसार पाठ विभाजन गरिएको छ । कक्षा ४–८ का लागि बहुविषयात्मक र अन्तर विषयात्मक ढाँचामा कक्षागत सिकाइ उपलब्धीलाई प्रस्तुत गरिएको छ । कक्षा ४–८ का लागि वार्षिक ४ पाठ्यघण्टा अर्थात १२८ कार्यघण्टामा राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार नै प्रस्तुत गरिएको छ ।

स्थानीय पाठ्यक्रमका क्षेत्रहरू

यस पालिकाद्वारा निर्मित हाम्रो उमाकुण्ड राम्रो उमाकुण्ड नामक स्थानीय पाठ्यक्रमका विषयवस्तुलाई ७ वटा क्षेत्र वा खण्डमा बाँडेर लेखिएको छ । ती क्षेत्र र त्यस अन्तर्गतका उपक्षेत्रहरू निम्नानुसार रहेका छन् ।

उमाकुण्ड गाँउपालिकाको चिनारी : गाँउपालिकाको नामाकरण, अवस्थिति, सिमाना र वडाहरू, भौगोलिक अवस्था, प्रवेश नाका, सडक बजार, स्थानीय सरकार, पालिकामा रहेका संघसंस्थाहरू, जनसांख्यीकीय अवस्था

सामाजिक तथा नैतिक मूल्य मान्यता र शिक्षा : सामाजिक विविधता, विद्यालय सामाजिकरण, सामाजिक मेलमिलाप, सामाजिक विकृति र कुलतहरू, नैतिक शिक्षा, मानवमूल्य शिक्षा, संस्कारयुक्त विद्यालय संस्कारी बालबालिका

हाम्रो सम्पदाहरू : धार्मिक सम्पदाहरू, प्राकृतिक सम्पदाहरू, सांस्कृतिक सम्पदाहरू, साहित्य संगित र कला, धार्मिक तथा सांस्कृतिक विचलनहरू

कृषि र उत्पादन : बालीनाली, पशुपंन्छी पालन, अन्य पालन, काठ बाँस उत्पादन, परम्परागत कृषि प्रणाली, आधुनिक व्यवसायिक कृषि पद्वति

सीप, प्रविधि र आयआर्जन : दैनिक प्रयोगजन्य सामाग्री, स्थानीय पेशा, स्थानीय प्रविधि, सीप तथा कला, सूचना र संचार प्रविधि, व्यवसाय, पर्यटन

हाम्रो स्वास्थ्य आहार र खेलकुद : योगध्यान, खेलकुद, स्वास्थ्य व्यवहार, स्वस्थ्य आहार

वातावरण र विपद व्यवस्थापन : वातावरण र यसको संरक्षण, विपद् र विपद् व्यवस्थापन

स्थानीय पाठ्यक्रम कार्यन्वयन

हाम्रो उमाकुण्ड राम्रो उमाकुण्ड नामक स्थानीय पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छ । यसलाई अझ कसरी राम्रो बनाउने भन्ने उदेश्यका लागि सुझावहरू संकलन गर्ने र आवश्यकता तथा औचित्यका आधारमा सुझावलाई सम्वोधन गरी समावेश गर्ने काम पनि भइरहेको छ । शैक्षिक सत्र २०८१ अगावै मुद्रण प्रति तयारी मात्र नभइ त्यसलाई आवश्यक प्रतिमा छपाइ गरी सम्वन्धित विद्यालय र शिक्षकहरूको हातमा पु¥याउने लक्ष्य रहेको छ ।

शैक्षिक सत्र २०८१ को शुरुमा प्रत्येक वडाका लिडर विद्यालयमा स्थानीय पाठ्यक्रम प्रवोधिकरण गरी पूर्ण रुपमा कार्यन्वयनमा ल्याइने छ । विगतको समयमा स्थानीय पाठ्यक्रमको अभावमा विद्यालयहरूले आफ्नो अनुकुलता अनुसार अतिरिक्त अंगे्रजी, नैतिक शिक्षा वा सामान्य ज्ञानलाई अध्यापन गराउदै आएकोमा यहि शैक्षिक सत्र २०८१ देखि पूर्ण रुपमा महत्व र प्राथामिकताका साथ हाम्रो उमाकुण्ड राम्रो उमाकुण्ड नामक स्थानीय पाठ्यक्रमका आधारमा पठन पाठनको व्यवस्था मिलाउने र पठन पाठन गराउने योजना कार्यक्रमका साथ काम भइरहेको छ ।

स्थानीय पाठ्यक्रम परिमार्जन र अध्यावधिक

पाठ्यक्रम विकास निरन्तर जारी रहने कार्य हो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले प्रत्येक १० वर्षमा नयाँ पाठ्यक्रमको निर्माण, प्रत्येक ५ वर्षमा पाठ्यक्रमको परिमार्जन र प्रत्येक वर्ष पाठ्यक्रमको अध्यावधिक गर्नुपर्ने आवश्यकता उल्लेख गरेको छ । प्रस्तावित पाठ्यक्रम पूर्णरुपमा विज्ञ तथा व्यवसायिक मानिसहरूद्वारा तयार नभई स्थानीय रुपमा उपलब्ध शिक्षकहरूद्वारा नै निर्माण भईरहेको हुँदा धेरै कमजोरी रहेका हुन सक्ने तथा प्रसस्त सुधार गरिनु पर्ने देखिन्छ ।

सुधारका लागि कमि कमजोरी पहिचान गर्नु पर्ने पहिलो आवश्यकता हो । यसका लागि कार्यन्वयन गर्ने शिक्षकहरूबाट पाठगत कमी कमजोरी, अस्पष्टता, अपूर्णता, विरोधावासहरूका बारेमा लिखित, मौखिक सुझावहरू संकलन गरिने छ । त्यस्तै उमाकुण्डभित्र वा बाहिरका जिज्ञासु, विज्ञहरू, सरोकारवालाहरूबाट पनि सुझाब संकलन गरिने छ । आगामी शैक्षिक सत्र २०८१ को अन्तिम त्रैमासिकमा सामान्य अध्यावधिक गर्न प्रयास गरिने छ भने शैक्षिक सत्र २०८२ को अन्तिम त्रैमासिकमा परिमार्जन गरी प्रस्तावित स्थानीय पाठ्यक्रमलाई प्रतिस्पर्धात्मक र व्यवहारिक बनाइने छ ।


Read Previous

नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउन विश्व बैंकले आयोगसँग लियो सुझाव

Read Next

क्यान इन्फोटेक मेलामा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

Leave a Reply

Your email address will not be published.