Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

मधेस प्रदेशको काँचुली फेर्दैछ हुलाकी सडक


वीरगञ्ज । कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ ।सिरहाको बरियारपट्टी बजार अहिले सुगम क्षेत्रका रुपमा चिनिन थालेको छ । भारतीय सिमानाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला लगानीका पसल खुल्न थालेको छ भने बजारमा सर्वसाधारणको चहलपहलसमेत बढेको स्थानीयवासी बताउँछन् । ‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना व्यवसाय मात्र थियो ।

तर अहिले सडक फराकिलो बनेसँगै बजारमा पक्की भवन र ठूला पसलहरू खुल्न थालेका छन् ।”, धनुषाको औरहीका बिनोद यादव भन्छन् ।पर्साको ठोरी गाउँपालिकालाई केही वर्ष अघिसम्म दुर्गम क्षेत्रको रुपमा मानिथ्यो । तर अहिले ठोरीले आफ्नो पुरानो पहिचान फेरेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ । सडक सञ्जालको विकास नहुनु र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्रे भएसँगै विकासको गतिमा अघि बढेको छ । पूर्व–पश्चिम हुलाकी सडक कालोपत्र भएसँगै ठोरीका स्थानीयहरुको अनुहारमा यतिबेला मुस्कान छाएको छ ।

हुलाकी सडक अन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्र भएपछि सदरमुकाम वीरगञ्ज पुग्न सहज भएको छ । “वीरगञ्जदेखि ठोरीसम्मको दूरी करिब ५२ किलोमिटर पर्छ, गाउँबाट वीरगञ्ज बजार पुग्न पहिला मोटरसाइकलमा सात÷आठ घण्टासम्म लाग्दथ्यो”, ठोरी गाउँपालिका–४ का ललित श्रेष्ठ भन्छन् । ‘सडक कालोपत्र भएपछि अहिले एक घण्टामै पुग्ने अनि धुलो र हिलोबाट समेत मुक्ति पाएको उनले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी पर्यटन र कृषिको प्रशस्त सम्भावना रहे पनि सडक सुविधा नहुँदा यहाँका वासिन्दाको जीवनस्तर माथि उठ्न सकेको थिएन । ‘‘पहिला गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल सहज रुपमा वीरगञ्ज बजार पु¥याउन समस्या हुन्थ्यो, तर अहिले सो सडकमा थुप्रै संख्यामा अटो रिक्साहरु चल्न थालेपछि सहज रुपमै तरकारी, फलफूल बजार पु¥याउन सकेका छौँ ।” बहुदरमाई नगरपालिकाका श्रवण महतोले भने ।

छोटो समयमै धनुषा र सिरहासहित मधेस प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेशकै ‘लाइफ लाइन’को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो । देशकै पुरानो राजमार्गहरूमध्ये पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामिण क्षेत्रहरू अहिले सुगम क्षेत्र बन्दै गएको छ ।

हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारणहरू समेत खुसी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौं युवाहरुमा रोजगारीको अवसर सिर्जना हुने उनीहरुको विश्वास छ । हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन स्थानीय तहको विकासमा ठूलो टेवा पुगेको सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताको कथन छ ।

‘‘हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्याङ्कन समेत बढ्दै गएको छ” सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले भनेका छन् । पहिला मुस्किलले २० लाख रुपैयाँ प्रतिकठ्ठा बिक्री हुने जग्गाहरू अहिले कठ्ठाकै ६० देखि ७० लाख रुपैयाँमा बिक्री हुन थालेको छ । सडक निर्माणका कारण गाउँ र बजारको दुरी घटेको छ, गाउँका स्थानीयहरू बजार आएर सहज रुपमा किनबेच गरिरहेकाले व्यापार बढेको छ । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म करिब साढे पाँच सय किलोमिटर सडकमा कालोपत्र र ६० वटाभन्दा बढीभन्दा बढी पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

पूर्वसप्तरीको कञ्चनपुरदेखि सदरमुकाम राजविराजसहित बलान खोलासम्मको ४६ किलोमिटर सडकमा पुलसँगै सडक निर्माणको काम तीब्र रुपमा भइरहेको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले जानकारी दिए । ‘‘पूर्व कञ्चनपुरदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा दुईवटा कन्ट्रयाक्टरमार्फत काम भईरहेको छ” थापा भन्छन् । अहिलेसम्म ३२ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी करिब आठ किलोमिटरमा सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम भइरहेको उनले बताए ।

यस्तै पूर्व बलान खोलादेखि सर्लाहीसम्मको करिब ९० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करिब २३३ किलोमिटर सडकअन्तर्गत हालसम्म ११८ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी १५ किलोमिटर सडकमा पनि तीव्ररुपमा काम भइरहेको छ । जनकपुरधामस्थित कदमचौकदेखि कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये २४ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी दुई किलोमिटरमा पनि तीब्र रुपमा काम भइरहेको कार्यालयका प्रमुख कृष्णकुमार महतोको भनाइ छ ।

सप्तरी र सिरहाको सीमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमा कालोपत्र सकिएको र सो खण्डमा एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सक्ने आशा गरिएको छ । एक वर्षअघिसम्म सुस्त देखिएको सर्लाही खण्डमा पनि काम तीब्र रुपमा अघि बढेको छ ।

सर्लाहीको सितलपुर–मलंगवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आएपनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो । करिब ४० किलोमिटरको सो सडक हस्तान्तरण भएयता ३८ किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र बाँकी खण्डमा माटो ग्राभेलको काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि राजमार्गभित्र परेका घरटहरा हटाउन भएको ढिलाई, ठाउँ–ठाउँमा जग्गासम्बन्धी विवाद र कोभिड १९ माहामारीलगायतका कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही समय पछि धकेलिएको उनले बताए । यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडक खण्डमा निर्माणधीन नौ वटा पुलमध्ये पाँच वटाको निर्माणको काम सम्पन्न भइसकेको र कमला नदीको पुलसहित चार पुलको काम भइरहेको कार्यालयले बताएको छ । रौतहटदेखि चितवनसम्मको करिब २५१ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी ३२ किलोमिटरमध्ये वनजङ्गल तथा जग्गासम्बन्धी बिवादका कारण प्रभावित भएको थियो । रासस


Read Previous

विज्ञापन बजार नियमनमा कडाई गरिने,मापदण्ड नमान्ने सञ्चारगृह र एजेन्सीको कारोबार रोक्कासम्मको निर्णय बोर्डले लिने

Read Next

पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको ७० प्रतिशत निर्माण सम्पन्न

Leave a Reply

Your email address will not be published.