Nepal Purbadhar

डिजेल र मट्टीतेल एकै पटक १४ रुपैयाँ बढ्यो,पेट्रोल पनि ५ रुपैयाँ महंगियो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गरेको छ । निगमले बुधबार (आज) देखि लागु हुने पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर समायोजन गरेको हो ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले मंगलबार मूल्य बढाएर पठाएपछि स्वचालित मूल्य प्रणाली बमोजिम डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा पनि लिटरमा ५ रुपैयाँ बढेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७०.५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खुद्रा मूल्य निगमको डिपो/कार्यालयदेखि १५ किलोमिटरभित्र लागु हुनेछ भने यो भन्दा पर दोस्रो र तेस्रो वर्गका ग्राहकले पेट्रोलका लागि लिटरमा क्रमशः १७२ रुपैयाँ र १७३ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

डिजेल र मट्टीतेल खरिद गर्ने दोस्रो वर्गका ग्राहकका लागि प्रतिलिटर १५२ रुपैयाँ र तेस्रो वर्गका ग्राहकका लागि १५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।

निगमले आइओसीले हरेक १५ दिनमा पठाउने पेट्रोलियम पदार्थको मूल्यका आधारमा स्थानीय बजारमा पनि मूल्य समायोजन गर्ने गरेको छ ।


Read Previous

ट्रन्सफर्मर पड्किएपछि जगतपुर गाउँमा १६ दिनदेखि छैन बिजुली,गर्मीकाे सास्ती झेल्दै स्थानीय

Read Next

अवरुद्ध बेनी–जोमसोम सडक १२ दिनपछि खुल्यो