Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

‘ट्रिपिङ’ समस्याले झ्याप-झ्याप बत्ती जाँदा सुस्तापूर्वका उपभोक्ता समस्यामा   


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पूर्वसूचना बिना जथाभावी  विद्युत कटाैती हुँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म  ट्रिपिङ समस्याले झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा दैनिक कामकाज प्रभावित भइरहेकाे हाे ।

जथाभावी बत्ती काटिने समस्याले घरमा भएका विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ । बिना सूचना झ्याप–झ्याप्प विद्युत् कटौती हुँदा विद्युतीय उपकरणमा समस्या देखिने गरेको मध्यविन्दु-३ का रामचन्द्र पौडेलले गुनासाे गरे ।

“सूचना बिना विद्युत् कटौती हुने गरेको छ । यसरी झ्याप्प बत्ती जाने र आउने गर्दा धारामा जडान गरिएको मोटर नै बिग्रियो”, उनले भने, “जिल्लावासीले दैनिक २० पटकभन्दा बढी विद्युत् ट्रिपिङको समस्या खेप्नुपरेको छ ।” नेपाल विद्युत प्राधिकरणकाे वितरणा प्रणालीमा कहिले कम तथा कहिले बढी भोल्टेजका कारण पङ्खा, फ्रिज, मोटर जस्ता विद्युतीय उपकरण बिग्रने गरेको उनले बताए ।

“लोडसेडिङ कटौती भयो भन्नुमात्रै भएको छ”, उनले गुनासाे गर्दै भने, “तर लोडसेडिङको तालिका भने नदिँदा अहिले कुन बेला बत्ती जाने हो, कुन बेला आउने हो पत्तै हुँदैन, यसको मार विद्युतीय उपकरणमा परेको छ ।” उनले दैनिक आठ–नौ घण्टासम्म दैनिक बिजुली जाने गरेकाे बताए ।

गैंडाकोट–१० का सीता रेग्मीले हावाहुरी चल्ने वित्तिकै बत्ती जाने गरेको गुनासो गरिन् । “सानो हावाहुरी वा पानी पर्यो भने बत्ती जान थालेको छ”, उनले भनिन्, “बत्ती जाने र आउने समयको कुनै ठेगान नभएपछि छिमेकमा धेरैले इन्भर्टर जडान गर्न थालेका छन् ।”

जिल्लामा आपूर्तिभन्दा विद्युतकाे माग बढी हुँदा ट्रिपिङको समस्या देखिएको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका इञ्जिनियर तिलकराम थनेतले स्पष्ट पारेका छन् । “भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन ओभरलोड भइरहेको छ”, उनले भने, “यहाँ प्रवाह हुने विद्युत्ले नधान्दा इलेक्ट्रिसिटी ट्रिपिङ भइरहेको छ ।”

भरतपुर–बर्दघाट प्रसारण लाइनको विकल्पमा अर्को प्रसारण लाइन सञ्चालनमा नआएसम्म जिल्लामा ट्रिपिङको समस्या समाधान गर्न कठिनाइ भएको उनकाे  भनाइ छ । “भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चार्ज भएको छैन”, उनले भने, “यो प्रसारण लाइन चार्ज भएपछि भने उपभोक्ताले सहजरुपमा विद्युत् उपभोग गर्न पाउँछन् ।”

अहिले गर्मी महिनामा विद्युतकाे माग अत्यधिक हुने भए पनि विद्युत् प्रवाह हुने रुट (प्रसारण लाइन)को क्षमता थोरै हुँदा उपभोक्ताले ट्रिपिङको समस्या झेल्नुपरेको उनले बताए ।

“पूर्व– पश्चिममा विद्युत् प्रवाह नियमित भइरहेको छ”, उनले भने, “माग अत्यधिक भएको गण्डकी र लुम्बिनी प्रदेशमा भने उपभोक्ताले ट्रिपिङको समस्या खेप्नुपरेको छ ।” उपभोक्ताको समस्या आफूहरुले बुझे पनि जिल्लाबाट समस्या समाधान गर्न सम्भव नभएकाले केन्द्रसँग समन्वय गरिरहेको उनले बताए ।

“अहिले मागभन्दा आपूर्ति कम भइरहेकाले बिजुली बग्ने हाइवे भएन । ट्रान्समिसन लाइन पर्याप्त नभएपछि साँघुरो रुटमा थोरैमात्रै विद्युत् प्रवाह हुन्छ ,” उनले भने ।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम तीव्ररुपमा भइरहेकाले उपभोक्ताको समस्या चाँडै नै समाधान हुने उनले विश्वास दिलाए ।  । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा ट्रान्समिसन लाइनको टावर निर्माण पश्चात हेटौँडा-भरतपुर–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आउने उनकाे भनाइ छ ।


Read Previous

बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : परराष्ट्रमन्त्री एनपी साउद

Read Next

‘आगामी वर्ष प्रत्येक प्रदेशका दुई जिल्ला पूर्ण दूरसञ्चारयुक्त’

Leave a Reply

Your email address will not be published.