Nepal Purbadhar

आइतवार, साउन ६, २०८१
Sunday, July 21, 2024

आइतवार, साउन ६, २०८१
Sunday, July 21, 2024

सहर सफा बनाउने इन्दौरको अनुभव


काठमाडौं ।  सहरमा कही कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमितरुपमा पानी हालिन्छ ।

फोहर राख्नका लागि मिलाएर राखिएका डस्टबिन छन् । सहरवासीले कुन प्रकारको फोहर हो, हेरेर त्यसैमा राख्छन् । कोही कसैले पनि सार्वजनिक स्थानमा फोहर गर्दैनन् पनि । मानिसमा चेतनाको विकास भएको छ, आफ्नो सहर, आफ्नो टोल र समुदायलाई कसरी स्वस्थ र हराभरा बनाउने । स्थानीय सरकार पनि उत्तिकै प्रभावकारी छ । सबै प्रकारको सहयोग उपलब्ध गराएको छ, आफ्ना नागरिकलाई । प्रदेश सरकार र सङ्घीय सरकारले पनि त्यसमा आडभरोसा गरेको छ ।

धुलो, धुवाँ र फोहररहित सहर बनाउने कुरा आफैँमा सामान्य र चानचुने विषय नै होइन । गरे सम्भव हुँदोरहेछ । भागवत गीतमा भने जस्तै ‘तिमी आँट म पु¥याउँछु ।’ यहाँ भएको यस्तै छ । फोहर, दुर्गन्ध र धुवाँ तथा धुलोले आक्रान्त भएको काठमाडौँको अवस्था होइन यो । यो त, छ सय ८६ माइल अर्थात् एक हजार एक सय चार किलोमिटर टाढा रहेको भारतको मध्यप्रदेशस्थित इन्दौरको अवस्था हो ।

भारतको सबैभन्दा स्वच्छ र सफा सहरको नाम राखेको इन्दौरको सकारात्मक अनुभवलाई अन्यत्र पनि अनुकरण गर्न खोजिएको छ । भारत सरकारले त्यसको प्रचारप्रसार मात्रै गरेको छैन, अनुभव साटासाट समेत गराएको छ । कुनै समय काठमाडौँ उपत्यका जस्तै फोहर रहेको इन्दौरले कसरी प्रगति ग¥यो त ? आम मानिसमा चासो हुनु स्वाभाविक छ ।

काठमाडौँ उपत्यकामा बेलाबखतमा फोहरको समस्या बल्झने गरेको छ । फोहर व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सङ्घीय सरकार र स्थानीय सरकारको टाउको दुःखाइको विषयसमेत बन्ने गरेको छ । जहाँ समस्या त्यहाँ समाधान । जहाँ फोहर त्यहाँ मोहोर भन्ने नारालाई वास्तवमै आत्मसात् गरेको इन्दौरको सफल अभ्यास नेपालका लागि पनि सफल उदाहरण बन्न सक्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १७ गतेदेखि २० गतेसम्म गरेकाे औपचारिक भारत भ्रमणका क्रममा इन्दौर र उज्जैनकोसमेत भ्रमणको कार्यक्रम थियो । बर्षेनी लाखौँ पर्यटक भित्र्याउन सफल ती दुई सहरको आआफ्नै विशेषता र महत्व पनि छन् । एकातिर धार्मिक पर्यटन, अर्कोतर्फ सूचना प्रविधि र औद्योगिक विकासका फड्को मात्रै गएको इन्दौरले राखेको स्वच्छ भारत अभियानको नामले सुनमा सुगन्ध थपे जस्तै भएको छ ।

फोहरलाई मोहर अनि त्यसैलाई पुनःप्रयोगको सफल उदाहरण बनेको छ इन्दौर । यसको पछाडिको रहस्य के होला ? भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलमा सहभागी प्रतिनिधिमण्डलले पनि जान्ने कोशिस ग¥यो । यहाँ फोहर उत्पादनको स्रोत, घरमा नै फोहरलाई विभिन्न छ भागमा विभक्त गरिन्छ । हरेक दिन नै इन्दौर नगर निगमको सवारी साधनले ती फाहोर सङ्कलन गर्छ । सो सवारी साधनमा नै कुहिने, नकुहिने, प्लास्टिक, औषधिजन्य फोहर सङ्कलन गर्ने व्यवस्था गरिएको छ । इन्दौर सहरको ८५ वडामा ५ सयभन्दा बढी फोहर सङ्कलन गर्ने सवारीसाधन पुग्छन् र सङ्कलन गर्छन् । मासु तथा माछा पसलबाट निस्कने फोहर सङ्कलनका लागि छट्टै सवारीसाधनको व्यवस्था गरिएको छ ।

सङ्कलित फोहरलाई पहिलो चरणको व्यवस्थानका लागि १० वटा ट्रान्सर्फर सेन्टर स्थापना गरिएको छ । ती केन्द्रलाई स्वचालित बनाइएको छ । जैविक फोहरलाई विकेन्द्रित गरिन्छ । नगर निगमले फोहर व्यवस्थापनका लागि छुट्टै कानुन बनाएको छ । होटल, अस्पताल तथा धेरै फोहर उत्सर्जन गर्ने स्थानमा नै फोहर व्यवस्थापनका लागि निगमले विशेष व्यवस्था गरिदिएको छ । सहरको सबैभन्दा ठूलो तरकारी बजारमा बायोग्यास उत्पादनका लागि प्लान्ट स्थापना गरिएको छ । तरकारी बजारबाट दैनिक निस्कने २० देखि २५ टन फोहर त्यहीँ व्यवस्थापन गरिन्छ ।

प्लान्टले दैनिक निस्कने एक हजार किलो बराबरको बायोग्यास इन्दौर नगर निगमले सञ्चालन गर्ने शहरी बसमा प्रयोग गरिन्छ । त्यसबाट बाँकी रहने अवशेषलाई जैविक मलका रुपमा प्रयोग गरिन्छ । यसले एकातिर इन्धन खरिदका लागि जाने ठूलो रकम बचेको छ भने अर्कोतर्फ कृषि उत्पादनमा वृद्धि भएको छ ।

सहरमा रोपिएका रुख तथा बिरुवाको पातलाई समेत मल बनाइएको छ । ती मल नगर निगमले रोपेका ती बिरुवा वा रुखमा नै प्रयोग गरिन्छ । सहरभित्र कपाल काट्ने पसलबाट निस्कने कपाल व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाइएको छ । स्थानीय नेहरु पार्क र इन्दौर चिडियाखानाबाट निस्कने फोहर व्यवस्थापनका लागि ‘अर्गानिक बेस्ट कन्भटर मेसिन’ राखिएको छ । त्यसबाट दैनिक निस्कने फोहर व्यवस्थापन गरेर जैविक मल बनाइन्छ । प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि प्लास्टिक क्रसिङ मेसिन राखिएको छ । सार्वजनिक सवारीसाधनमा फोहोर फाल्नका लागि डस्टबिन राखिएको छ ।

दैनिक तीनदेखि चार पटकसम्म नगर निगमको विशेष बाहनले सडक बढार्ने व्यवस्था मिलाइएको छ । घरमा नै कुहिने फोहर व्यवस्थापन गरेर मल बनाउनका लागि प्रेरित गरिएको छ । त्यसबाट स्रोतमा नै कम फोहर उत्पादन हुन थालेको छ । यसलाई सहरभर नै अभियानका रुपमा अगाडि बढाइएको छ । प्लास्टिक तथा नकुहिने फोहर सङ्कलनका लागि नगर निगमले नै व्यवस्था गरेका व्यवसायीले घरघर पुगेर खरिद गर्ने व्यवस्था गरिएको छ ।

वर्षौंदेखि सहरको सार्वजनिक स्थानमा थुप्रिएको १२ लाख टन बढी फोहरलाई बायोरेमिडिशन प्रक्रियाबाट मल बनाइएको छ । त्यसबाट सहरमा नयाँ पार्क निर्माण गरी हरियाली प्रवद्र्धन गरिएको छ । बाँकी रहेका प्लास्टिकजन्य वा अन्य फोहरको पनि विशेष तवरले व्यवस्थापन गरिएको छ । फोहरमा फालिएका तर पुनःप्रयोग गर्न सकिने फोहरका लागि छुट्टै प्रबन्ध गरिएको छ । ती फोहर सिमेन्ट प्लान्ट वा प्लास्टिकजन्य सामग्री निर्माणका लागि उपयोग गरिन्छ । सो कार्यका लागि विशेष सुविधासहितको रोजगारी पनि दिइएको छ ।

दैनिक सङ्कलन हुने छ सय टन बढी फोहरलाई विशेष फोहर प्रशोधन केन्द्रमा लगिन्छ । त्यसलाई २८ दिनको विशेष प्रक्रियाबाट ८० टन बराबरको मल उत्पादन गरिन्छ । सो मल प्रतिकिलो खुला दुई रुपैयाँ र प्याकिङ गरिएको मल तीन रुपैयाँ भारुमा बिक्री गरिन्छ । उक्त मल स्थानीय किसानले खरिद गरेर लैजान्छन् भने बाँकी रहने फोहर स्थानीय पार्क तथा बिरुवाका लागि प्रयोग गरिन्छ । घर तथा आवास पुनःनिर्माणबाट निस्कने फोहर व्यवस्थापनका लागि छुट्टै प्रशोधन प्लान्ट स्थापना गरिएको छ । त्यसबाट इँटा वा सडकमा बिछ्याउने ब्लक निर्माण गरिन्छ । सो सामग्रीसमेत नगर निगमले आफ्नै नवनिर्माणमा प्रयोग गर्ने गरेको छ ।

खासमा केही वर्ष पहिलेसम्म इन्दौर यति स्वच्छ र सफा होला भन्ने धेरैलाई लागेको थिएन, तर अहिले वास्तविकतामा परिणत भएको छ । उनीहरु भन्छन्– खासमा यो त शुरुवात मात्रै हो, लामो यात्रा अझै बाँकी छ । स्वच्छता अभियानमा सन् २०१७ मा इन्दौर पहिलोपटक पहिलो नम्बरमा आउन सफल भएको छ ।

सहरलाई स्वच्छ बनाउनका लागि आम नगरबासीले सङ्कल्प नै गरेका छन् । त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गरेका छन् । शुरुआती चरणमा सहरसफाईका लागि रेडियो, टेलिभिजन पत्रपत्रिका, बालपेन्टिङ गरेर जनचेतना जगाइयो । फोहर सङ्कलनका लागि गुड्ने सवारीसाधनमा जिपिएस जडान गरिएको छ । यस्तै ५० माइक्रोनभन्दा कम प्यास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

निगमका प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहका अनुसार इन्दौरले वातावरण संरक्षण र फोहर व्यवस्थापन गरेर मात्रै ‘कार्बन क्रेडिट बिक्री गरेर’ झन्डै  १० करोड भारु बराबरको आम्दानी गरेको छ । शहरमा बिजुलीको खर्च बचाउनका लागि सौर्य प्रणाली जडान गरिएको छ । त्यसका लागि ‘ग्रीन बण्ड’ बिक्री गरेर स्रोत सङ्कलन गरिएको थियो । त्यसबाट ६० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गरिएको छ । उक्त बण्डलाई धर्ती बचाउने महाअभियानको नाम दिइएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले फोहर व्यवसथापन केन्द्र, वायोग्यास उत्पादन स्थल, फोहरको पुनःप्रयोग वा व्यवस्थापन केन्द्रलगायतको स्थानको अवलोकन गरे । ती स्थानको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले इन्दौरको सफल अभ्यास नेपालका लागि समेत अनुकरणीय रहेको बताए । उनले नेपाल सरकारको तर्फबाट विशेष टोली नै बनाएर इन्दौरको फोहर व्यवस्थापनका बारेमा जानकारी लिन पठाउने बताए ।

काठमाडौँ उपत्यका र सहरी क्षेत्रको फोहर व्यवस्थापन गर्न नसकेर समस्यामा परेको सरकार र सरकारका कार्यकारी प्रमुखले नै त्यसमा विशेष चासो लिएर सकारात्मक अनुभवलाई यहाँ प्रयोग गर्ने सङ्कल्प गरेका छन् । विशेषतः काठमाडौँ उपत्यकाका लागि यो तत्काल गरिहाल्नुपर्ने कामका रुपमा रहेको छ । त्यसका लागि आजैदेखि पहल थाल्नु जरुरी छ । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुरु गर्नुभएको ‘स्वच्छ भारत अभियान’ को सफल अभ्यास इन्दौरबाट काठमाडौँले सिक्दा केही फरक पर्देन । त्यसका लागि जागरुकता र प्रतिबद्धता भएमा फोहरमाण्डौँमा परिणत भएको काठमाडौँ उपत्यका पनि इन्दौर जस्तै सफा र स्वच्छ हुन सक्छ । रासस


Read Previous

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

Read Next

कान्ति राजमार्ग : पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति

Leave a Reply

Your email address will not be published. Required fields are marked *