Nepal Purbadhar

माथिल्लो सोलु आयोजना शुक्रबारदेखि प्रसारण प्रणालीमा जोडिँदै


काठमाडौं । सोलुखुम्बुस्थित सोलु खोलामा निर्माण भएको १९.८ मेगावाटको माथिल्लो सोलु खोला जलविद्युत आयोजनाबाट आगामी शुक्रबारदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । बेनी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा इलेकट्रोमेकानिकलतर्फको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई विभिन्न चरणको आन्तरिक परीक्षण पूरा गरी विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीका सञ्चालक गणेश कार्कीले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरी आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्नेछ ।

‘हाम्रो आयोजनाको सबै संरचनाको परीक्षण सम्पन्न गरी अब विद्युत उत्पादन गर्ने चरणमा पुगेको छ,’ उनले नेपाल पूर्वाधारसँग भने,‘शुक्रबारदेखि विद्युत उत्पादन सुरु गर्न अन्तिम तयारी गरिरहेका छौं ।’

आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन निर्माणको प्रवर्द्धक कम्पनीले नै निर्माण गरेको छ ।

विद्युतगृहदेखि सबस्टेसनसम्म १२ किलोमिटर प्रसारण लाइनको रुटमा ४१ वटा टावर निर्माण गरिएको छ । यसअघि यो आयोजनाबाट गत मंसिरमा नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, आयोजनाको परीक्षण गर्दै जाँदा केही ढिलो गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

यो भन्दाअघि असोजमा विद्युत उत्पादन गर्ने भनिएको थियो । त्यतिबेला भदौमा आएको बाढी सुरुङमार्फत प्रवेश गरी अन्य संरचनामा पनि क्षति पुर्याएका कारण पुनः दोहोर्याएर काम गर्नु परेका कारण मंसिरसम्म तालिका सारिएको थियो ।

त्यसअघि आयोजनाबाट २०७६ साल पुसमा नै विद्युत उत्पादन गर्ने पहिलो तालिका थियो । सुरुवातमा प्रसारण लाइनको समस्या, फेरि कोभिड–१९ महामारी, बर्खाको बाढी लगायत विविध कारणले आयोजनाको विद्युत उत्पादन तालिका पटक–पटक सर्न पुग्यो ।
अनेक समस्या झेल्दै आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउनु नै ठूलो सफलता भएको कार्कीले बताए । प्रतिमेगावाट १८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ४ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनाको संरचना निर्माण गर्दा सुरुवातमा १८ मेगावाट क्षमतामा काम सुरु गरिएको थियो । आयोजना निर्माणाधीन अवस्थामै रहेका बेला क्षमता विस्तार गरी जडित क्षमता १९.८ मेगावाट बनाइएको हो । सोलु बेसिनमा यसअघि निर्माण सम्पन्न भएका ८६ मेगावाटको सोलु दूधकोसी र २३.५ मेगावाटको सोलु खोला सञ्चालनमा छन् । ८२ मेगावाटको तल्लो सोलुको निर्माण अन्तिम चरणमा छ ।

Facebook Comments

Read Previous

माथिल्लो कर्णाली प्रभावित विद्यार्थीलाई जिएमआरको प्राविधिक तालिम (फाेटाे फिचर)

Read Next

जलाशय जलविद्युत परियोजना निर्माणमा गम्भीर छैन सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar