Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

मध्यभोटेकोसीको पहिलो युनिट प्रणालीमा आउन १० महिना लाग्ने, ८६ प्रतिशत निर्माण सकियो


काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकासी जलविद्युत आयोजनाले अबको १० महिनामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको पहिलो युनिट २०८० साल जेठमा सञ्चालनमा ल्याउने गरी आयोजनाको निर्माणलाई गति दिइएको हो ।

जेठ पहिलो साता आयोजनाको पहिलो युनिटको ३४ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोड्ने पछिल्लो तालिका रहेको प्रवर्द्धक मध्यभोटेकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले बताए । उनका अनुसार पहिलो युनिट सफलरूपमा प्रणालीमा जोडेपछि क्रमशः दोस्रो र तेस्रो युनिटबाट उत्पादन उत्पादन सुरु गरिनेछ ।

अहिलेसम्ममा आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ । बाँध क्षेत्रको निर्माण ९८ प्रतिशत पूरा भइसकेको छ । पटक–पटकको बाढीले बाँध क्षेत्रमा क्षति पुर्याउँदा समेत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

करिब डेढ साताअघि आयोजनाको ७.२ किलोमिटर लामो मुख्य सुरुङ खनेर सकिएको छ । ‘भर्खरै आयोजनाको मुख्य सुरुङ खनिर सकिएको छ । अब लाइनिङको काम सुरु गरेका छौं,’ उनले नेपाल पूर्वाधारसँग भने,‘यो काम सम्पन्न हुन करिब ८ महिना लाग्छ ।’ उनले आयोजनाको मुख्य सुरुङमा लाइनिङ गर्ने कार्य संवेदनशील रहेकाले बढी समय लाग्ने अवस्था आएको बताए ।

आयोजनाको भर्टिकल साफ्ट, पेनस्टक र होराइजेन्टल साफ्टको काम करिब ५० प्रतिशत सम्पन्न भएको छ । यो सबै काम आगामी मंसिरसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको शिवाकोटीले जानकारी दिए ।

विद्युतगृहमा पनि करिब ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । अहिले विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइसकेको कम्पनीले जनाएको छ ।

२०८० बैशाख अन्तिम सातासम्ममा आयोजनाको सबै काम सम्पन्न गरी संरचनामा पानी भर्न सुरु गर्ने तालिका रहेको पनि शिवाकाटीले बताए । त्यसअघि नै बैशाख मध्यसम्ममा विद्युतगृहका सबै उत्पादन युनिट विद्युत उत्पादनका लागि तयारी अवस्थामा राख्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको उनले बताए ।

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत ४ किलोमिटर दुरीको बाह्रबिसे सबस्टेसनमा जोडिने गरी प्रसारण सम्झाैता भएको छ । सबस्टेसनसम्म आवश्यक प्रसारणलाइन निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ ।

प्रसारण लाइनको १३ वटा टावर मध्ये १० वटाको फाउन्डेशन तयार गरिएको छ । ४ वटा टावर खडा भइरहेको शिवाकोटीले बताए । विद्युत बाह्रबिसे सबस्टेसनमार्फत उपत्यकामा ल्याउने गरी आयोजना निर्माण गरिएको भए पनि तत्कालका लागि सम्भव नभएको उनले बताए । उच्च क्षमताको लफ्सीफेदी सबस्टेसन नबनेका कारण आयोजनाको विद्युत २२० केभी न्यू खिम्ती सबस्टेसनतर्फ पठाउने विकल्प आएको पनि उनले बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले यो आयोजना आगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको थियो । अहिलेसम्मको निर्माण प्रगति अनुसार प्राधिकरण व्यवस्थापनले दिएको तालिका करिब साढे ४ महिना धकेलिने देखिएको छ ।

८ वर्षअघि निर्माण सुरु भएको आयोजना अहिलेसम्ममा सम्पन्न भई प्रसारण प्रणालीमा आइसक्नु पर्ने थियो । तर, भूकम्प, नाकाबन्दी, बाढी, पहिरो, स्थानीय अवरोध, ठेकेदार विवाद, कोभिड–१९ महामारी लगायत कारणले आयोजना पटक–पटक प्रभावित हुन पुगेका कारणा अझै सम्पन्न हुन सकेको छैन ।

कोभिड–१९ महामारीको समयमा करिब १ वर्ष आयोजनाको निर्माण पूर्णरूपमा ठप्प हुन पुगेको थियो । कोभिड–१९ को दोस्रो लहरमा पनि ३ महिना आयोजनामा काम हुन सकेन ।

आयोजनाको निर्माण सुरु भएपछि विद्युत उत्पादनको पहिलो तालिका २०७४ जेठ तोकिएको थियो । यो तालिका प्रभावित भएपछि त्यसयता पटक–पटक विद्युत उत्पादन तालिकाको म्याद थप हुँदै आएको छ । निर्माण सुरु भएकाे ७ वर्षसम्म कामले गति लिन सकेकाे थिएन । काेभिड–१९ काे दाेस्राे लहरपछि भने आयोजनाको निर्माण आक्रामकरूपमा अगाडि बढाएकाे शिवाकाेटीले बताए ।

आयोजना निर्माण सम्पन्न हुँदा १५ अर्ब ३ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजना इपिसी (इन्जिनियरिङ, खरिद तथा निर्माण) मोडलमा निर्माण ठेक्का दिए पनि अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले आयोजनाको लागत ताेकिएकाे भन्दा बढ्ने अवस्था आएको कम्पनीले जनाएको छ ।

यो आयोजनामा कर्मचारी संचय कोषले ऋण लगानी गरेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीमार्फत अगाडि बढेको आयोजनामा सिन्धुपाल्चोकका ४ वटा इन्भेष्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता,सिन्धुपाल्चोकबासी र सर्वसाधारणको सेयर लगानी छ ।

अध्ययन अनुसार यो आयोजना निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिँदा वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन गर्न सम्भव हुनेछ ।चिलिमे जलविद्युत कम्पनी अन्तर्गत मध्यभोटेकोसीसँगै १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना पनि निर्माणाधीन छन् ।


Read Previous

वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

Read Next

‘संयुक्त पश्चिम सेती’ विकासक्रमले खोल्ने जलविद्युतको नयाँ ढोका

Leave a Reply

Your email address will not be published.