Nepal Purbadhar

भारतले ७ वर्षमा नवीकरणीय ऊर्जाको हिस्सा २० प्रतिशत विन्दु र भण्डारण ३ प्रतिशत विन्दुले बढाइने


काठमाडौं । भारतले अबको ७ वर्षमा विद्युत प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा २० प्रतिशत विन्दु र ऊर्जा भण्डारण क्षमता ३ प्रतिशत विन्दुले वृद्धि गर्ने भएको छ । भारतको ऊर्जा मन्त्रालयले सन् २०२९/३० सम्मका लागि नयाँ नवीकरणीय खरिद दायित्व (आरपिओ) र ऊर्जा भण्डारण प्रणाली (इएसएस) प्रक्षेपणको आदेश जारी गर्दै यो लक्ष्य निर्धारण गरेको हो ।

पहिलोपटक सन् २०१६ को जुलाईमा आरपिओ जारी गरेको भारतले त्यसपछि पटक–पटक यसको कार्ययोजनासहितको दायरा विस्तार गर्दै लगेको छ । पहिलो पटक आरपिओ जारी गरेको ६ वर्षपछि फेरि गत २२ जुलाईमा नवीकरणीय ऊर्जा उत्पादन तथा भण्डारण क्षमता बढाउने नयाँ आरपिओ ल्याइएको हो ।

आदेश अनुसार, चालू आर्थिक वर्ष (सन् २०२२–०२३) मा २४.६१ प्रतिशत रहेको आरपिओ बढाएर ४३.३३ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । साथै, हाल सौर्य (सोलार) र वायु (विन्ड) ऊर्जाको भण्डारण क्षमता १ प्रतिशत रहेकोमा यसलाई बढाएर ४ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।

जलविद्युत, वायु, सौर्य, बायो, जिओथर्मल लगायत नवीकरणीय ऊर्जाका स्रोतहरूमार्फत नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य भारतले लिएको छ । भारतको ऊर्जा मन्त्रालयका अनुसार, हाल वायुको नवीकरणीय खरिद दायित्व ०.८१ प्रतिशत रहेकोमा त्यसलाई बढाएर ६.९४ प्रतिशत पुर्याइने छ ।

यस्तै, जलविद्युतको खरिद दायित्व (एचपीओ) ०.३५ प्रतिशत रहेकोमा यसलाई २.८२ प्रतिशत पुर्याउने तथा अन्य आरपिओ २३.४४ प्रतिशत रहेकोमा यसलाई पनि बढाएर ३३.५७ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । भारतको एचपीओको लक्ष्य पूरा गर्न भारत र भारतीय राज्यहरूबाट उत्पादित जलविद्युतको हिस्सा मात्र समेटिने भनिएकाले नेपालले आफ्नो विद्युत खरिद गरी आदेशलाई शंसोधन गर्न आवाज उठाउँदै आएको छ । भारतले एचपीओमा नेपाललाई पनि समेटेमा निर्वाध रूपमा नेपालको विद्युत भारतमा निर्यात गर्नका लागि बाटो खुल्नेछ ।

यसैगरी सौर्य र वायुको इएसएस हाल १ प्रतिशत मात्र रहेकोमा आगामी ७ बर्षभित्र ४ प्रतिशत पु¥याउने लक्ष्य मन्त्रालयले राखेको छ । सन् २०२१/०२२ मा १४९१.८५९ अर्ब युनिट (बिलियनयु) अर्थात ४ लाख २ हजार ८ सय मेगावाट बराबरको ऊर्जा क्षमता रहेको भारतमा हाल जलविद्युतमार्फत ०.८८ प्रतिशत मात्र उत्पादन हुँदै आएको छ ।

सौर्य र वायु ऊर्जाको हिस्सा १६.०७ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । भुटानबाट आयात गरिएको र भारतको गरी जलविद्युतको हिस्सा ११.७९ प्रतिशत मात्र रहेकोमा कोल ऊर्जाको हिस्सा सबैभन्दा बढी ५१ प्रतिशत छ ।

अहिले १५७ गिगावाट रहेको नवीकरणीय ऊर्जाको हिस्सा सन् २०३० भित्र ५ सय गिगावाट र नवीकरणीय ऊर्जाको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्य राखेको भारत सरकारले कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन हुने ऊर्जालाई ३२ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

सन् २०७० मा जिरो कार्बन इमिसनमा पुग्ने प्रतिबद्धता जनाएको भारतमा हाल ६० प्रतिशतभन्दा बढी डर्टी इजर्नीको रुपमा चिनिने कोइला, ग्यास लगायतका इन्धनको ऊर्जा उपयोग भइरहेको छ । नेपालले सन् २०४५ भित्रै जिरो कार्बन इमिसनको प्रतिबद्धता जनाए पनि सो अनुसारको योजना भने अघि बढाउन सकेको छैन । तर, भारतले भने नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकता दिएर यसका लागि आवश्यक लक्ष्य निर्धारण गरी यसैको आधारमा कार्य अघि बढाइसकेको छ ।

भारतले निर्धारण गरेको नवीकरणीय ऊर्जा विकासको लक्ष्य

आर्थिक वर्षवायु आरपीओ (प्रतिशतमा)एचपीओ (प्रतिशतमा)अन्य आरपीओ (प्रतिशतमा) 

जम्मा आरपीओ (प्रतिशतमा)

 

२०२२–२०२३०.८१०.३५२३.४४२४.६१

 

२०२३–२०२४१.६००.६६२४.८१२७.०८
२०२४–२०२५२.४६१.०८२६.३७२९.९१
२०२५–२०२६३.३६१.४८२८.२१३३.०१
२०२६–२०२७४.२९१. .८०२९.८६३५.९५
२०२७–२०२८५.२३२.१५३१.४३३८.८१
२०२८–२०२९६.१६  २.५१३२.६९४१.३६
२०२९–२०३०६.९४२.८२३३.५७४३.३३

स्रोतः ऊर्जा मन्त्रालय, भारत

आर्थिक वर्षभण्डारण

(ऊर्जामा आधारित प्रतिशतमा)

 

२०२३–२०२४      १
२०२४–२०२५    १.५
२०२५–२०२६     २
२०२६–२०२७    २.५
२०२७–२०२८      ३
२०२८–२०२९    ३.५
२०२९–२०३०      ४

स्रोतः ऊर्जा मन्त्रालय, भारत


Read Previous

एउटै निर्माण व्यवसायीले ५ भन्दा बढी खरिद सम्झौता गरे/नगरेको पत्ता लगाउन जाँच शुरु

Read Next

१ महिनामा तयार हुँदै दोर्दी कोरिडोर प्रसारण लाइन,निर्माण सकिएका आयोजनाको विद्युत जोडिने