Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

मर्स्याङ्दी कोरिडोरको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीय अवरोध हट्यो


काठमाडौं । निर्माणाधीन २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीयले गरेको अवरोध हटी काम अघि बढेको छ । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखाको पालुङटारमा स्थानीयले गर्दै आएको अवरोध हटेपछि निर्माणले गति लिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा दोर्दी गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयको माग सम्बोधन गर्ने सहमतिपछि प्रसारण लाइनको अवरुद्ध काम अगाडि बढेको आयोजना प्रमुख चिरन्तनबिक्रम राणाले बताए । उनका अनुसार स्थानीयबासीलाई राहत पुग्ने गरी माग सम्बोधन गर्ने सहमतिपछि प्रसारण लाइनको अवरोध हटेको हो ।

स्थानीय अवरोध हटेसँगै यस क्षेत्रमा प्रसारण लाइनको अवरुद्ध कामको निर्माणले गति पाएको छ । ‘स्थानीयले अवरोध गरेपछि दोर्दीका २ वटा वडाको काम अवरुद्ध भएको अवस्था थियो । यो समस्या हामीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमक्ष राखेका थियौं,’ उनले भने, ‘मन्त्रालयकै पहलमा अहिले समस्या समाधान भई अवरुद्ध काम सुचारु गर्ने वातावरण बनेको छ ।’ उनले प्रसारण लाइनको उदिपुर–भरतपुर खण्डको रुटमा पनि स्थानीय अवरोध हटेर निर्माण सुचारु गर्न बाटो खुलिसकेको बताए ।

स्थानीयले दोर्दीमा प्रसारण लाइनको रुटको जग्गाको उपयोग आफैंले गर्न पाउनु पर्ने,बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पाउनु पर्नेलगायत विभिन्न माग राखेर ७ वटा टावर निर्माणमा अवरोध गर्दै आएका थिए । सरकारले नै प्रसारण लाइन निर्माण गरिरहेकाले जनतालाई पनि सहज हुने गरी सहमति गरेर काम अगाडि बढाएको राणाले बताए ।

गोरखाको पालुङटारमा आएको स्थानीय समस्या पनि समाधान भइसकेको छ । यो क्षेत्रमा अहिले जग्गा अधिग्रहणको काम भइरहेको आयोजनाले जनाएको छ । लमजुङको रुटमा जग्गा अधिग्रहणको सम्पूर्ण कार्य पूरा भइसकेको छ । यसअघि प्रसारण लाइनको रुट बदल्नु पर्ने माग राखेर पालुङटार क्षेत्रका स्थानीयले अवरोध गर्दै आएका थिए । प्राधिकरणको पटक–पटकको छलफल तथा परामर्श र मन्त्रालयको पहलपछि यहाँको स्थानीय अवरोध हटेर काम सुचारु भएको हो ।

६७ किलोमिटर लामो यो खण्ड ५५ वटा फाउन्डेसन तयार भएका छन् । १८ वटा टावर निर्माणको काम पनि सम्पन्न भइसकेको छ । यो रुटमा १९२ वटा टावर निर्माण हुँदैछन् । यो खण्डको ६ किलोमिटर प्रसारण लाइन अहिले दोर्दी कोरिडोर बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि उपयोग हुँदैछ ।

यो प्रसारण लाइन हुँदै दोर्दी बेसिनका आयोजनाको विद्युत मर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डमा लगिनेछ । यो खण्डमा अहिले तार तान्ने कार्य अन्तिम चरणमा पुगेको छ । अब २ किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको राणाले बताए ।

प्रसारण लाइनको यो रुटमा अब कुनै समस्या नआएमा १ वर्षभित्रमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन सकिने राणाले जानकारी दिए । प्रसारण लाइनको वन क्षेत्रको रुटमा भने मन्त्रीपरिषदबाट रुख विरुवा कटानको स्वीकृति लिन बाँकी छ । आयोजनाले मन्त्रिपरिषदबाट स्वीकृति लिने प्रक्रिया अगाडि बढाइसकेको छ ।

२ सबस्टेसन अन्तिम चरणमा

मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर–भरतपुर खण्ड अन्तर्गत निर्माणाधीन २ सबस्टेसनको निर्माण सकिन लागेको छ । चितवनको न्यू भरतपुर र लमजुङको उदिपुरमा निर्माणाधीन सबस्टेसनको निर्माण पूरा हुन लागेको हो ।

न्यू भरतपुर सबस्टेसनको निर्माण सकिन लागेकाले भदौभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको राणाले बताए । यो सबस्टेसनको करिब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।

कुनै प्राविधिक समस्या नआए अबको २ महिनामा सबस्टेसन सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको योजना छ । अहिले सबस्टेसनमा उपकरण जडानको काम भइरहेको छ । यो सबस्टेसनमा १६०÷१६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान गरिँदैछ ।

लमजुङमा निर्माणाधीन उदिपुर सबस्टेसन पनि अन्तिम चरणमा पुगेको छ । यो प्रसारण लाइन आगामी पुसभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य छ ।
उदिपुर–मार्किचोक–भरतपुर खण्ड निर्माण सम्पन्न हुँदा २ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । मर्स्याङ्दी र यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत प्रवाह गर्ने उद्देश्यले मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन निर्माण भइरहेको हो ।

यो प्रसारण लाइन निर्माण सम्पन्न हुँदा करिब १ हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । मर्स्याङ्दी कोरिडोर अन्तर्गत मनाङ्ग–खुदी–उदिपुर खण्डको काम पनि अगाडि बढेको छ । यो खण्ड अन्तर्गत खुदीदेखि मनाङ्गसम्म प्रसारण लाइन निर्माण हुँदैछ ।

अहिले प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको काम भइरहेको राणाले बताए । प्रसारण लाइनको रुटको डिजाइन तयार भइसकेको छ । बर्खा सकिएपछि प्रसारण लाइनको संरचनाको काम अघि बढाउने प्राधिकरणको योजना छ ।

प्रसारण लइनको यो खण्ड अन्तर्गत खुदी र मनाङ्गको धारापानीमा गरी २ सबस्टेसन निर्माणाधीन छन् । कुदी सबस्टेसन अबको १ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणमा गएको छ । धारापानी सबस्टेसनको पनि निर्माण सुरु भइसकेको छ ।


Read Previous

डोली खारेजीको घोषणासँगै समायोजनमा सकसः भौतिक पूर्वाधारपछि अब सहरी विकासका इञ्जिनियरको विरोध

Read Next

सिद्धबाबा सुरुङ मार्गको निर्माण फागुनदेखि, ठेकेदारले डिजाइनको काम थाल्याे

Leave a Reply

Your email address will not be published.