Nepal Purbadhar

रौतहटका तीन अलपत्र पूर्वाधार आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

सांकेतिक तस्बिर।


काठमाडौं । रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन ओटा पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । पटक-पटक म्याद थप गर्दा पनि निर्माण कार्य अघि नबढेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेक्का अन्त्य गरेको हो ।

ठेक्का तोडिएका आयोजनामा चन्द्रनिगाहपुर-गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर-सुकदेव चोक-लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार-बागमती खण्डको सडक स्तरोन्नति रहेका छन् ।

लमाहा र लौकाहा खोला पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु र शिवशंकर जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सम्पन्न हुनुपर्ने दुवै पुलको म्याद पटक-पटक थप गरिएको थियो । अन्तिम पटक थपिएको म्यादसमेत २०८० असार ३० गते सकिए पनि निर्माण सम्पन्न हुन सकेको थिएन ।

पुल निर्माण अलपत्र हुँदा स्थानीयले लामो समयदेखि आवागमनमा सास्ती भोग्दै आएका छन् ।

त्यस्तै, महेन्द्र राजमार्गको धनसार-बागमती खण्डमा सडक स्तरोन्नतिका लागि गरिएको ठेक्का पनि तोडिएको छ । गत आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गरिएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाइने बताएका छन् ।


Read Previous

सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण : सभापति गजुरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar