Nepal Purbadhar

सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण : सभापति गजुरेल

फाइल तस्बीर।


काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले काठमाडौं उपत्यकाको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले विगतका वर्षको तुलनामा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार आएको बताए ।

उनले सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरीको प्रयाससँगै सबै सडक प्रयोगकर्ताले नियम पालना गर्नुपर्नेमा जोड दिए । बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक सुरक्षा, ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरण र पैदलयात्रीको सुरक्षाका लागि ट्राफिक प्रहरी निरन्तर खटिरहेको बताए ।

उनले ट्राफिक प्रहरी कर्मचारीलाई निष्पक्ष, जिम्मेवार र नागरिकमैत्री भएर काम गर्न निर्देशन दिँदै आर्थिक अनियमिततामा शून्य सहनशीलता अपनाउनुपर्ने बताए ।

प्रमुख काफ्लेले सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र दुर्घटनामुक्त यातायात प्रणाली विकासका लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।

कार्यक्रममा सहभागीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, पैदलयात्रीलगायत सबै सडक प्रयोगकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्दै ट्राफिक नियम पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत ५०६ जना ट्राफिक प्रहरी अधिकृत तथा कर्मचारी सहभागी थिए ।


Read Previous

तीन महिनाभित्र कार्यविधि बनाई गाँजा खेतीलाई कानुनी मान्यता दिन सर्वोच्चको परमादेश

Read Next

रौतहटका तीन अलपत्र पूर्वाधार आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar