
काठमाडौं। नेपाल टेलिकमले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने भएको छ।
कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँका बाढी प्रभावित नागरिकसँगै पृथ्वी राजमार्गअन्तर्गत गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी तथा मुग्लिन-नारायणगढ सडक आसपासका प्रभावितलाई लक्षित गरी विभिन्न सुविधा उपलब्ध गराउने जनाएको हो।
बाढीका कारण क्षति भएर पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराई जडान गरिने टेलिकमले जनाएको छ। त्यस्तै, एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि समाप्त भएमा तीन महिनासम्म निःशुल्क समय थप गरिनेछ।
बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा दर्ता भएको सिमकार्ड पुनः वितरणको व्यवस्था पनि गरिएको छ। यसका लागि ग्राहकले पाँच ओटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ। ती नम्बरको ‘लास्ट लोकेसन’ बाढी प्रभावित क्षेत्रमा रहेको हुनुपर्ने र सम्बन्धित नम्बरको केवाईसी यथाशीघ्र अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको टेलिकमले जनाएको छ। प्रभावित ग्राहकलाई उपलब्ध गराइएका प्याकेजसहितका सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था गरिएको छ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आईडीएमसीमा रहेको मुख्य सर्भरदेखि प्राधिकरणमा रहेको ब्याकअप सर्भरसम्म निःशुल्क कनेक्सन स्थापना गर्न डार्क फाइबर-फिजिकल कनेक्टिभिटी उपलब्ध गराइएको छ।
बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा उपलब्ध गराउँदै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपाल (सीएमसी-नेपाल) को नाममा जडान भएको टोल फ्री नम्बर १८१०५०००४०२ को तीन महिनासम्मको मासिक बिलसमेत निःशुल्क गरिने भएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार एवम् प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रमा राहत संकलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ।
जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन युनिटका लागि एक वर्षसम्म १०० एमबीपीएस क्षमताको निःशुल्क इन्टरनेट उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
रसुवामा बाढी प्रभावित क्षेत्रबाट प्राप्त हुने सूचना, क्षतिको विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो तथा भिडियो लगायतका तथ्यांक समयमै संकलन र प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि नै झन्डै २० करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकेको जनाएको छ।
बाढीबाट दूरसञ्चार क्षेत्रमा करोडौं रुपैयाँ बराबरको पूर्वाधार क्षति भएको भन्दै कम्पनीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको कामसमेत जारी राखेको जनाएको छ।

