Nepal Purbadhar

चापाकल छ, पानी आउँदैन ! एउटै समरसेवलको भरमा दुई सय परिवार (तस्बिर)


सिरहा । घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ । करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा लाइन बसेर पानी भर्न बाध्य छन् ।

गाउँकै मोहन झाको घरमा जडान गरिएको समरसेवल पम्पको भरमा स्थानीय बस्नुपरेको छ । दुई बाल्टी पानी भर्न घण्टौँ कुर्नुपर्ने अवस्था छ ।

झाका अनुसार बेतौनामा पछिल्लो पाँच वर्षदेखि पानीको समस्या बढ्दो छ । वर्षायाममा पर्याप्त पानी परे केही समय चापाकलमा पानी आउने गरेको छ । तर, यस वर्ष लामो समयदेखि पर्याप्त पानी नपरेकाले छापाकल सुकेको उनले सुनाए । ‘असार–साउनमा राम्रो पानी पर्दा मंसिर–पुससम्म चापाकलमा थोरै–थोरै पानी आउँथ्यो । तर यस वर्ष लामो समयदेखि पर्याप्त पानी नपर्दा चापाकलबाट पानी आउनै छाडेको छ,’ उनले भने ।

खडेरीका कारण खेतमा धान सिँचाइ गर्न एकैपटक मोटर र दमकल सञ्चालन हुँदा भूमिगत पानीमा थप दबाब परेको उनको भनाइ छ । तत्काल वैकल्पिक व्यवस्था नगरे बेतौनाबासीले अझ ठूलो पानी संकट बेहोर्नुपर्ने उनको अनुमान छ ।

यो वर्षको लामो खडेरीले बेतौनामा घरेलु प्रयोजनका लागि मात्र नभई कृषि उत्पादनमा समेत असर पार्ने देखिएको छ । पर्याप्त वर्षा नहुँदा खेतमा सिँचाइको माग बढेको छ भने भूमिगत पानीको अत्यधिक दोहनले खानेपानीका स्रोतसमेत सुक्दै गएका छन् ।

बेतौना मात्र होइन, पछिल्ला वर्षमा तराई–मधेशका विभिन्न क्षेत्रमा भूमिगत पानीको सतह घट्दै जाँदा खानेपानीको संकट गहिरिएको छ । चुरे क्षेत्रको अनियन्त्रित दोहन, अनियमित वर्षा, लामो खडेरी, भूमिगत पानीको अत्यधिक प्रयोग, परम्परागत पोखरी तथा जलाशयको अतिक्रमण र बढ्दो तापक्रमले पानीको प्राकृतिक पुनर्भरण प्रणाली कमजोर बनाएको छ ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

Read Previous

चाबहिल-जोरपाटी सडकको दुरावस्था : कालोपत्रे सडकमा गाडी उफ्रिन्छन्, यात्रु त्रसित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar