
फाइल तस्बीरमा तनहुँ जलपद्युत आयोजना।
दमौली। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज-१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँध निर्माणमा ६२ प्रतिशत प्रगति भएको छ।
बाँध निर्माणका लागि कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्नेमा हालसम्म ४ लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको छ।
आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको भण्डारीले बताए। बाँधमा कङ्क्रिट राख्ने काम निरन्तर भइरहेको छ।
प्याकेज-१ अन्तर्गत बाँधलगायत संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले पाएको छ। उक्त प्याकेजको समग्र भौतिक प्रगति ५९ प्रतिशत पुगेको छ।
मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध तथा दुई ओटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ। बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भइसकेको छ भने दुवै किनारमा रहेका आठ ओटा ग्राउटिङ टनेल पनि निर्माण भएका छन्।
मुख्य बाँधको कङ्क्रिटिङ काम २०८१ साल चैत ७ गतेदेखि सुरू भएको थियो। बाँधको फाउन्डेसन स्थायित्वका लागि विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, ‘कन्सोलिडेसन ग्राउटिङ’ तथा ‘कर्टेन ग्राउटिङ’ लगायतका काम सम्पन्न भएका छन्।
त्यस्तै, ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान र ग्याबियन निर्माणको काम पनि निरन्तर भइरहेको छ।
