Nepal Purbadhar

इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्री नितिन गडकरीद्वारा मेटासहितका प्रविधि कम्पनीविरुद्ध मुद्दा


नयाँ दिल्ली। भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सामाजिक सञ्जालमा आफूलाई इथानोल मिश्रण कार्यक्रमसँग जोडेर मानहानिपूर्ण तथा भ्रामक सामग्री प्रसारण गरिएको आरोप लगाउँदै मेटासहितका ठूला प्रविधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।

गडकरीले बम्बे उच्च अदालतमा दायर गरेको मुद्दामा ११ करोड भारतीय रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन्। उनको कार्यालयका अनुसार सामाजिक सञ्जालमा फैलाइएका सामग्रीले उनको प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याएको दाबी गरिएको छ।

गडकरीले आफूलाई भारत सरकारको ‘ई-२०’ इथानोल मिश्रित पेट्रोल कार्यक्रम का लागि व्यक्तिगत रूपमा जिम्मेवार रहेको तथा आफू र आफ्नो परिवारले त्यसबाट आर्थिक लाभ लिएको भन्ने आरोप निराधार र मानहानिपूर्ण भएको बताएका छन्।

भारत सरकारले आयातित इन्धनमाथिको निर्भरता घटाउने र कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले पेट्रोलमा २० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने ‘ई-२०’ नीति कार्यान्वयन गरिरहेको छ। तर, पछिल्लो समय सामाजिक सञ्जालमा उक्त नीतिको आलोचना गर्दै विभिन्न पोस्ट र भिडियो व्यापक रूपमा फैलिएका छन्।

ती सामग्रीमा इथानोल मिश्रित पेट्रोलले सवारीसाधनको इन्जिनमा क्षति पुर्‍याउने तथा कम इथानोल मिश्रणका लागि बनेका सवारीसाधनको मर्मत खर्च बढ्ने दाबी गरिएको छ।

गडकरीले विशेषगरी आफूविरुद्ध प्रसारित ‘डिपफेक’ भिडियो र अन्य भ्रामक सामग्रीले आफ्नो सार्वजनिक छवि र प्रतिष्ठामा अपूरणीय क्षति पुर्‍याइरहेको दाबी गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मुद्दामा फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटा, एक्स कर्प र गुगल लगायतका प्रविधि कम्पनीलाई विपक्षी बनाइएको छ।

यस विषयमा प्रतिक्रिया माग्दै एएफपीले गरेको अनुरोधमा मेटाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

भारत फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताको सङ्ख्याका हिसाबले मेटाको सबैभन्दा ठूलो बजारमध्ये एक हो। पछिल्ला वर्षहरूमा भारत सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथिको नियमन कडा बनाउँदै आपत्तिजनक वा भ्रामक सामग्री हटाउन तथा सरकारी निर्देशन पालना गर्न प्रविधि कम्पनीहरूलाई दबाब दिँदै आएको छ।


Read Previous

व्यवसायीसँग अर्थमन्त्रीले भने, ‘सरकारले उद्योग चलाउँदैन, निजी क्षेत्रलाई विस्तारको वातावरण बनाउँछौ’

Read Next

इरान, ओमान, साउदी अरेबिया एकै ठाउँ, स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar