
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल, फाईल तस्बीर।
चितवन। शिक्षा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सस्मित पोखरेल ले पार्टीको केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गरेका छन्।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पोखरेलले खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् भने २१ जना प्रतिनिधि समर्थक रहेका छन्।
उम्मेदवारी दर्तापछि पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउन केन्द्रीय सदस्यका रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र इमानदारीपूर्वक योगदान गर्दै संगठन सुदृढीकरणमा काम गर्ने बताएका छन्।
काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रहेका पोखरेल हाल शिक्षा तथा खेलकुदमन्त्रीका साथै सरकारका प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिरहेका छन्। उनले शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार, प्रविधिमैत्री शिक्षाको विस्तार तथा स्वदेशमै गुणस्तरीय, व्यावहारिक र रोजगारमुखी शिक्षा सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्।
पोखरेल यसअघि बालेन्द्र शाहका सल्लाहकारका रूपमा पनि कार्यरत थिए। रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने कार्यक्रम रहेको छ।
