Nepal Purbadhar

ललितपुरमा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला आजदेखि शुरू


ललितपुर । ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला आगामी जेठ २९ गते शुक्रबार सानोपा स्थित हेरिटेज गार्डेनमा शुरू भएको छ।

महिला उद्यमशीलताको प्रवर्द्धन, उद्यमीहरूबीच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रम बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

सम्मेलनमा प्रेरणादायी वक्तृत्व, सफल महिला उद्यमीहरूको अनुभव साटासाट, महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रदर्शनी तथा बिक्री, साथै व्यवसायिक नेटवर्क विस्तार र नयाँ अवसरहरूको खोजीसम्बन्धी कार्यक्रम समावेश गरिनेछ।

त्यसैगरी, सहभागी महिला उद्यमीहरूलाई सीप विकास, बजार प्रवर्द्धन तथा उद्यमशीलता विकासका विषयमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

ललितपुर महानगरपालिकाले महिला उद्यमशीलता प्रवर्द्धनमार्फत आर्थिक सशक्तीकरण र समावेशी विकासमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ।

आयोजकका अनुसार सम्मेलन तथा मेलाले महिला उद्यमीहरूलाई आफ्नो उत्पादन र सेवाको प्रचारप्रसार, व्यवसायिक सम्बन्ध विस्तार तथा नयाँ बजार पहुँच विस्तार गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


Read Previous

इप्पान अधिवेशन: सचिव र उपाध्यक्ष पदमा ७-७ जना बनाउने प्रस्ताव, चुनावी प्रक्रिया सुरू हुँदै

Read Next

‘शपिङको नयाँ ठेगाना’ भन्ने नारासहित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ भृकुटीमण्डपमा शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar