
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को जारी २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा सचिव र उपाध्यक्ष पदको संरचना विस्तार गर्ने प्रस्ताव अघि सारिएको छ।
हाल ५-५ जनाको व्यवस्था रहेको सचिव र उपाध्यक्ष पदलाई बढाएर ७-७ जना बनाउने प्रस्ताव अधिवेशनमा प्रस्तुत गरिएको हो। महासंघमा परिणत हुने तयारीमा रहेको इप्पानको प्रदेशगत तहमा संस्थागत प्रतिनिधित्व विस्तार र नेतृत्व सुदृढीकरणलाई लक्ष्य गर्दै पद संख्या वृद्धि गर्न लागिएको बताइएको छ।
प्रस्तावअनुसार अब इप्पानमा सचिव र उपाध्यक्ष दुवै पद ७-७ जनामा विस्तार हुनेछन्। यसअघि यी पदहरू ५-५ जनामा सीमित थिए।
अधिवेशनमा सो प्रस्तावमाथि छलफल जारी रहँदा केही बेरमा चुनावी प्रक्रिया शरू हुने तयारी गरिएको छ। निर्वाचनमार्फत ५ जना पदाधिकारी चयन गरिनेछ भने बाँकी २ जना मनोनयनमार्फत नियुक्त गरिने छ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।


