Nepal Purbadhar

रास्वपाको लक्ष्य वैकल्पिक मात्र होइन, मुलुकको नेतृत्व होः सभापति लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्ने राजनीतिक शक्ति बन्नु रहेको बताएका छन्।

आगामी जिल्ला अधिवेशनका सन्दर्भमा सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुने बेला आएको उल्लेख गरे। युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने उनको भनाइ छ।

लामिछानेले पछिल्लो जनमतलाई अझ विस्तार गर्दै राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर पनि हो।

रास्वपाको आज ३७ र भोलि २९ जिल्लामा अधिवेशन हुँदैछ। पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्।

सभापति लामिछानेले पार्टीभित्र संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्नु नै संगठनको संस्कार भएको बताए। यस्ता प्रक्रियाले पार्टीलाई अझ बलियो र परिपक्व बनाउने उनको भनाइ छ।

उनले पार्टीलाई उन्नत लोकतान्त्रिक शक्ति बनाउने लक्ष्य रहेको उल्लेख गर्दै विचार मात्र नभई शैली, व्यवहार र राजनीतिक संस्कार पनि सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। पुरानै सोच र प्रवृत्ति दोहोरिए नयाँ र जनमैत्री शक्ति बन्न नसकिने उनको टिप्पणी छ।

स्थापनाकालमा तदर्थ रूपमा दिइएका जिम्मेवारीलाई आधार बनाएर पदोन्नति वा व्यक्तिगत लाभ खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उनले बताए। यस्तो प्रवृत्तिलाई समयमै सच्याउनुपर्नेमा उनले जोड दिए।

लामिछानेले मतदाताको विवेक र सदस्यहरूको समर्पणले पार्टीलाई यहाँसम्म ल्याएको उल्लेख गर्दै अब संगठन विस्तारसँगै ‘म छुटिएँ कि’ भन्ने संकीर्ण चिन्ता त्याग्नुपर्ने बताए।

उनका अनुसार रास्वपाको लक्ष्य अब वैकल्पिक शक्ति बन्ने मात्र होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो।


Read Previous

विश्व वातावरण दिवसमा चौथो सांग्रिला साइकल र्‍याली, करिब १५ सय सहभागी

Read Next

कक्रोच जनता पार्टीको प्रदर्शन: ६ जना नियन्त्रणमा, के यो जेन जी आन्दोलन हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar