
काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको दीर्घकालीन आर्थिक रूपान्तरणको आधारका रूपमा हेरिएको १९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अध्ययन प्रक्रिया पनि अघि बढिरहेको छ।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अध्ययन अन्तर्गत स्कोपिङ डकुमेन्ट र टम्स अफ रिफ्रेन्स ( Scoping Document and Terms of Reference) वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइ परामर्शदाता जेड- एनइडीसी जेभी (JADE-NEDC JV) का विज्ञ टोलीद्वारा हाल आयोजनास्थलमा बेसलाइन डेटा संकलन, सार्वजनिक सुनुवाइको तयारी लगायतका कार्यहरु भइरहेका छन् । सन् २०२२ बाट सुरु भएको यो प्रक्रिया आगामी फागुनसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सम्भाव्यता अध्ययनअनुसार आयोजनामा करिब ५ खर्ब १५ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान छ । २८५ मिटर अग्लो ड्यामसहित करिब ४५ किलोमिटर लामो जलाशय निर्माण हुने यो आयोजनाले ४५ किलोमिटरको कृतिम ताल बनाउनेछ। भूमिगत विद्युत गृहबाट उत्पादन हुने बिजुलीले ७.७ घण्टा पिकिङ दिने अध्ययनले देखाएको छ।
ऊर्जासँगै पर्यटन र स्थानीय अर्थतन्त्रको विस्तार
मुगु कर्णाली आयोजना केवल ऊर्जा उत्पादनमै सीमित हुने छैन । जलाशय क्षेत्रलाई माछापालन, जल पर्यटन, रिसोर्ट तथा सेवा–आधारित गतिविधिका लागि प्रयोग गर्ने सम्भावनाबारे छुट्टै अध्ययन तयारीमा छ । आयोजनाबाट रामरोशन, खप्तड, बडिमालिका, बुढीनन्दा तथा रारा जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरू जोडिने भएकाले यस क्षेत्रलाई पर्यटकीय करिडोरको रूपमा विकास गर्न सकिनेछ ।
हाल अध्ययन भइरहेका जलविद्युत आयोजनामध्ये यो दोस्रो ठूलो आयोजना हो। १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी पछि आकार र महत्वका हिसाबले मुगु कर्णालीले राष्ट्रिय ध्यान खिच्ने अपेक्षा गरिएको छ।
निर्माण पूर्वतयारी तीव्र, टेस्ट टनेल खन्ने काम सुरु
आयोजनास्थलमा तयारीका कामहरू युद्धस्तरमा अघि बढिरहेका छन् । पावरहाउस र ड्याम एक्सेसका लागि दायाँ–बायाँ टेष्ट अडिट टनेल खन्ने काम पुस १५ गतेदेखि सुरु भइसकेको आयोजना निर्देशक सूर्य प्रकाश पाण्डेयले जानकारी दिए ।

करिब १,४५० मिटर टेस्ट टनेल खन्ने योजना रहेको छ ।
कर्णाली करिडोर सडकसँग जोडिएको यस आयोजना क्षेत्रमा बस्ती विकास तीव्र भइरहेकाले समयमै जग्गा प्राप्ति महत्त्वपूर्ण रहेको आयोजनाले जनाएको छ । प्रारम्भिक रूपमा करिब ९ हजार रोपनी निजी जग्गा खरिद आवश्यक पर्ने देखिएको छ। ईआईएको अन्तिम प्रतिवेदनपछि आवश्यक जग्गाको यकिन संख्या तय हुनेछ।
मुगु कर्णालीबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण कम्पनी लिमिटेडले रेंगिल,कालिकोटमा निर्माण गर्न लागेको फुकोट हबसँग जोडिनेछ । करिब ४५ किलोमिटर लामो ४०० के.भी. डबल सर्किट प्रसारणलाइन निर्माण गरी हबमा जडान गरिनेछ । आयोजनाका अनुसार प्रसारणलाइनको लाइसेन्स लिइसकिएको छ र वातावरणीय अध्ययन भइरहेको छ ।

आयोजना सुदूरपश्चिमको बाजुरा र कर्णालीका मुगु, हुम्ला, कालीकोट, जुम्ला क्षेत्रमा फैलिएको छ। प्रभावित क्षेत्रका रूपमा कर्णालीका चार र सुदूरपश्चिमको बाजुरा गरी पाँच जिल्लाका एक नगरपालिका र ११ गाउँपालिका छनोटमा परेका छन् । स्थानीय समुदायलाई सेयर उपलब्ध गराइनेछ, जसअन्तर्गत सर्वसाधारणसँगै प्रभावित जिल्लाका बासिन्दा तथा अति विपन्न वर्गलाई प्राथमिकता दिइनेछ ।
हिउँदको ऊर्जा आत्मनिर्भरताका लागि रणनीतिक आयोजना
नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाही भएकाले हिउँदमा उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ। यही कारण हिउँदमा करिब ६०० मेगावाटसम्म विद्युत आयात गर्नुपर्ने बाध्यता छ। १,००० मेगावाटभन्दा माथिका जलाशययुक्त आयोजना निर्माण नगरेसम्म ऊर्जा आत्मनिर्भरता सम्भव नहुने निष्कर्षका बीच मुगु कर्णालीको महत्व झनै बढेको छ। हाल नेपालमा १०० मेगावाटको कुलेखानी सञ्चालनमा छ भने १४० मेगावाटको तनहुँ आयोजना निर्माणाधीन छ।
अध्ययनअनुसार निर्माण सुरु भएको १० वर्षभित्र आयोजना सम्पन्न गर्न सकिनेछ।
लगानी कसरी जुटाउने ? मोडालिटी कस्तो हुने ?
आयोजनाको लगानी कसरी जुटाउनेबारे अहिले छलफल चलिरहेको छ । सम्भाव्यता अध्ययन पूरा भएकाले कम्पनीको बोर्डमा लगेर छलफल गरिनेछ । बोर्डको निर्देशन अनुसार थप अध्ययन तथा लगानी जुटाउने सम्वन्धी योजना रहेको छ । स्वदेशी स्रोतबाट लगानी जुटाउन नसके विदेशी साझेदार ल्याएर भएपनि निर्माण गर्ने योजना छ ।
विद्युत उत्पादन कम्पनीले यसअघि नै आन्तरिक स्रोतबाट मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत आयोजनाको सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडालिटीमा विकास निर्माण गर्ने गरी सूचना समेत निकालेको थियो ।

विद्युत उत्पादन कम्पनी लिमिटेड आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि पीपीपी मोडलबाट आयोजनाहरु विकास गर्न खोजेको हो । ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको थियो। नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्धक रहेको कम्पनीले आवेदन दिन सक्ने उल्लेख गरेर सूचना निकालिएको सूचना केहि पुनरावलोकन सहित निस्कासन गर्नुपर्ने देखिएपछि कम्पनी आफैले रद्द गरेको थियो । १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजनामा लगानी गर्ने भन्दै स्थानीय साझेदारी सिजी ग्रुपले लगानी गर्न प्रस्ताव हालेका थिए ।
ऊर्जा उत्पादन, पर्यटन विकास, रोजगारी सिर्जना र क्षेत्रीय समृद्धिलाई एकैसाथ अघि बढाउने लक्ष्यसहित मुगु कर्णाली जलविद्युत आयोजना कर्णाली र सुदूरपश्चिमको भविष्य बदल्ने परियोजनाका रूपमा अघि बढिरहेको छ।









