Nepal Purbadhar

को हुन् प्राधिकरणको कार्यकारी निर्देशक बन्ने चर्चामा आएका मनोज सिलवाल ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाउने चर्चा सुरु भएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङले उनलाई हटाउने संकेत गरेपछि यो चर्चा सुरु भएको हो । शाक्यले सरकारको स्पीडमा काम गर्न नसक्ने भन्दै उनलाई हटाउन लागिएको चर्चा छ । यही चर्चाकाबीच शाक्यले आइतबार घिसिङलाई भेटेर प्राधिकरणको बिफ्रिङ गरेका छन् ।

उनले आफूले राजीनामा नदिने बरु घिसिङलाई सफल बनाउन काम गर्ने बताएका छन् । सरकारले गर्ने निर्णयलाई सम्मान गर्ने समेत शाक्यले बताएका छन् ।

घिसिङले भने उनलाई हटाउने स्रोतको दाबी छ ।

उनलाई हटाउने चर्चाबीच मनोज सिलवाल प्राधिकरणको कार्यकारी निर्देशक बन्ने चर्चा छ । सामाजिक सञ्जालदेखि चौतर्फी रुपमा सिलवालको चर्चा बढेको छ ।

को हुन् सिलवाल?

सिलवाल नेपाल विद्युत प्राधिकरणबाट रिटार्यड उपकार्यकारी निर्देशक हुन् ।

उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वितरण तथा ग्राहक सेवा निर्देशनालय सम्हालेका थिए । यो निर्देशनालयलाई प्राधिकरणको ‘ब्याक बोन’ मानिन्छ । यो निर्देशनालयले राम्रो काम गर्‍यो भने मात्रै प्राधिकरणको कार्यकारी सफल हुन्छ । यसले काम गर्न सकेन भने प्राधिकरणको कार्यकारी असफल हुन्छ ।

उनै सिलवालले लगनका साथ काम गरेका कारण घिसिङ सफल भएका थिए । जनतामा वाहावही पाएका हुन् । अर्थात घिसिङलाई सफल बनाउन उनको महत्वपूर्ण भुमिका छ ।

लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने,कम बोल्ने सिलवाल निर्णय क्षमतामा अब्बल छन् । पछिल्लो समय डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउन सिलवाल घिसिङसंगै उभिएका थिए । कुलमानसंगै उभिएका कारण सिलवाल राजनीतिक नेतृत्वदेखि व्यापारीसम्मको निशानामा परेका थिए ।

जस्तो सुकै निशानाको पनि सामना गरेर उनी घिसिङको साथ उभिए । उपकार्यकारी निर्देशकहरु समेतसंगै उभिएका कारण घिसिङले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारसंगै बक्यौता उठाएर छाड्ने अडान लिएका थिए । घिसिङलाई सधै भरी साथ दिएका उनका सारथी सिलवाललाई कार्यकारी निर्देशक बनाउने तयारी गरेको स्रोतको दाबी छ ।

सिलवालले पदको पछाडी कहिल्यै पनि लागेनन् । तर पद पाए काम गर्न पछि नहट्ने स्वभाव उनको छ ।। घिसिङले आफूलाई रोजे कार्यकारी निर्देशक बनेर काम गर्न भने तयार छन् सिलवाल । नबनाएपनि सहयोग गरेर अघि बढ्ने तयारीमा छन् । उनले पद पाउनु र नपाउनु गौण विषय भएको भन्दै विकासे तीनवटै मन्त्रालय सम्हालेका घिसिङलाई सफल बनाउन भुमिका खेल्ने बताए । राष्ट्र र ऊर्जा विकासमा काम गर्ने जो कोहीलाई सहयोग गर्ने सिलवाल बताउँछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सिलवालको क्षमतालाई बुझेका थिए । सोही कारण पछाडीबाट आफूलाई सहयोग गरोस् भन्ने चाहेका थिए । उनले अनौपचारिक रुपमा यसबारे बुझेका समेत थिए । तर सिलवालले केहि विषयमा आवश्यक परे सल्लाह दिने तर सल्लाहकार भएर काम नगर्ने स्पष्ट जवाफ पठाएका थिए । अर्थात शाक्यले समेत सिलवाल क्षमतवान हुन भनेर प्रशंसा गर्ने गरेका छन् ।

प्राधिकरणका कर्मचारीहरु पनि सिलवालले नेतृत्व गर्न सक्नेमा विश्वस्त देखिएका छन् । केहि कर्मचारीहरुले उनीबाहेकले प्राधिकरण चलाउन गाह्रो बताएका छन् । उनीहरुका अनुसार प्राधिकरण बाहिरको व्यक्तिले यो संस्था चलाउन सक्दैन अर्कातिर निर्णय गर्न सक्षम व्यक्ति नल्याएर प्राधिकरण चलायमान नहुने उनीहरुको भनाई छ ।

आइतबार सिलवाल र घिसिङबीच भेट भएको थियो । भेटका क्रममा सिलवालले घिसिङलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


Read Previous

हितेन्द्र शाक्यको कुलमानलाई बिफ्रिङ: मलाई अप्ठ्यारो छैन्, तपाईलाइ सफल बनाउन काम गर्छु

Read Next

प्राधिकरणको कार्यकारी निर्देशक बने मनोज सिलवाल,शाक्यलाई मन्त्रालय तानियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar