Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

डिप बोरिङमार्फत पर्वतका २ विकट बस्तीमा खानेपानी सुविधा   


पर्वत । वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका २ विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो ।

आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ । पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पुर्याइएको छ ।

स्थानीय २ सय परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्याङ्कीमा सङ्कलन गरी एक घर एक धारामार्फत वितरण गरिने भएको छ । ४ करोड रुपैयाँ लागतमा यो योजना सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर प्रेमबहादुर थापाले बताए । केही महिनामै सबै घरमा धारा बनाएर पानी वितरण गरिने उनले जानकारी दिए ।

अहिलेसम्म पिठ्यूँमा गाग्री बोकेर गुजारा चलाउँदै आएकी स्थानीय बबिता दर्जीले गाउँमा धारामा पानी आउन थालेपछि सुखको सास फेरेको बताए । अब पानीको जोहो गर्नकै लागि रातैमा उठेर कुवा र इनारमा धाउनुपर्ने समस्या अन्त्य भएको उनकाे भनाइ छ । डाडाँमा बस्ती बसेको वषौँ वर्षपछि खानेपानी उपलब्ध भएको दर्जीले बताए ।

बोरिङमार्फत तानिएको पानी ट्याङ्कीमा सङ्कलन गरेर हरेक घरमा वितरण गरिने फलेवास नगरपालिका–३ शङ्करपोखरीका वडाअध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए । नजिकमा खोला वा मूल नहुँदा यो गाउँमा अहिलेसम्म खानेपानी योजना सञ्चालनसमेत हुन सकेको थिएन ।

त्यसैगरी, लामो समयदेखि काकाकुलको नियति भोगिरहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पनि पहिलोपटक पाइपमार्फत खानेपानी पुर्याइएको छ । सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो ।

जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताए । लुप्राङ गाउँबाट करिब ४ किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो । पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना रहेको उनले बताए । एक करोड रुपैयाँभन्दा बढीको लगानीमा उक्त योजना सम्पन्न हुन लागेको हो ।

“यहाँका बासिन्दा कुवाको भर पर्दै आएका थिए । गाउँको सबैभन्दा ठूलो समस्या नै पानी थियो,” वडाध्यक्ष जिसीले भने । केही वर्षअघिसम्म लुप्राङमा करिब एक सय ३० घर भए पनि तीमध्येका करिब ४० परिवार पानीकै अभावका कारण बसाइँ सरेका छन् । स्थानीय हरिनारायण रेग्मीले वर्षौंदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङवासीको मागको सुनुवाइ भएको बताए ।

अब एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए । लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास गरिए पनि एउटा वडामा रहेको स्रोत अर्को वडामा लगेर प्रयोग गर्नेमा राजनीतिक दलका प्रतिनिधिबीच सहमति नहुँदा गाउँमा पानी पुर्याउन ढिलाइ भएको थियो । अहिले सो विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएपछि योजनाले पूर्णता पाएको हो ।


Read Previous

सडक बत्तीको १५ वर्षदेखिको विद्युत बक्यौता तिर्न कपिलवस्तु नगरपालिका सहमत,६० किस्ताको सुविधा दिइने

Read Next

हिमालयन हाइड्रो एक्स्पो २०२४ः विद्युतीय सवारी प्रवर्द्धन गर्न इभी र्‍याली आयोजना गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *