Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

भाँचिएकाे कावाखोला पुलकाे पुनःनिर्माण थालियो   


भोजपुर । निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो ।

हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरीस्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ । यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो । भाँचिएपछि पुलको स्वरुप परिवर्तन गरेर पुनःनिर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए ।

‘स्टिल ट्रस ओपन फाउन्डेसन’मा बन्ने यो पुल एक स्पानको हुने उनकाे भनाइ छ । पुल ४५ मिटर लम्बाइ, छ मिटर चौडाइ र १.२० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण हुने जनाइएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनकाे भनाइ छ ।

“कावाखोला पुलको पुनः निर्माण भइरहेको छ”,उनले भने, “हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्रमा सम्पन्न हुन्छ ।”  मूल्य अभिवृद्धि कर (भ्याट) सहित ४ करोड ६२ लाख ७४ हजार ९ सय १० को लागतमा पुल बन्न लागेको हो ।

गुणस्तरीय ढङ्गले यथाशक्य चाँडो निर्माण सम्पन्न गराउन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलगायत स्थानीय जनप्रतिनिधिको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । स्वीस सरकारको सहयोगमा निर्माण हुने उक्त पुलको २०७६ साल फागुन १२ गते शिलान्यास भएको थियो ।


Read Previous

चितवनको दुर्गम मायाटार गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच

Read Next

भकुण्डे-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्ती सडक निर्माण कछुवा गतिमा

Leave a Reply

Your email address will not be published.