खोटाङ । निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । २०७९ चैत १० गते ढलेकाे पुलको उदयपुरतर्फको टावर ठड्याइएकाे हाे ।
निर्माण कम्पनी नेपाल फूलबारी–स्वर्णीम–अन्सुमन जेभीले पुलको टावर हालै ठड्याएको हो । स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले गत फागुन २९ गतेदेखि काम सुरु गरेको थियो ।
टावर ढलेयता पुलको काम रोकिएको थियो । निर्माण कम्पनीलाई प्रदेश सांसद भूपेन्द्र राईलगायत स्थानीयले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई अविलम्ब काम थाल्न आग्रह गरेपछि टावर ठडिएकाे हाे।
प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको ३ करोड ५० लाख रुपैयाँमा पुल निर्माणको काम सुरु भएको थियो । झोलुङ्गे तथा पक्की पुल अभावमा साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका एक सय १० परिवार डुङ्गा चढेर नदी वारपार गर्न बाध्य छन् । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।