Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

पक्की पुल निर्माण नहुँदा आवतजावतमा सास्ती


बेदकोट (कञ्चनपुर)। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ ।

निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताए । ‘बर्खामा खोला निकै आउँछ । बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्नै समस्या हुन्छ’, उनले भने, ‘पुल नहुँदा ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्छ ।’

ठेकेदार कम्पनीको लापर्वाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको अर्का स्थानीय दिलबहादुर खत्रीले बताए । ‘सुविधासम्पन्न बाटो तथा पुल नहुँदा कोही बिरामी परे पनि लैजान गाह्राे हुन्छ । एम्बुलेन्स आउन मान्दैन’, उनले भने, ‘समयमै अस्पताल पु¥याउन नसक्दा कतिपयले बाटोमै ज्यान पनि गुमाएका छन् ।’ ओदाल खोलामा पुल नहुँदा स्थानीय अहिले खोलाकै धुलाम्य कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत  क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।

‘पुल निर्माण हुने भनेको यत्रो समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन’, स्थानीय गणेश रावतले भने, ‘हामी पीडामा छौँ । अब त पुल निर्माण हुन्छ भन्ने आशा पनि मरिसक्यो ।’ विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले ५ करोड ४७ लाख रूपैयाँमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पूल तयार हुन सकेको छैन । पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत ३० गते काम सक्नुपर्ने भए पनि अझै निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिए ।

‘पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ’, उनले भने, ‘निर्माणमा लापर्वाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।’ उनका अनुसार पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का छोड्न परिपत्र गर्ने तयारीसमेत भइरहेको छ । पुलको निर्माण गर्नुपर्ने दुई वटा स्पानमध्ये एउटा मात्रै निर्माण सम्पन्न भएको छ ।


Read Previous

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

Read Next

यसरी फेरियो पुम्दीकोटको परिचय

Leave a Reply

Your email address will not be published.