काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७९/८० मा मुनाफा घटेको छ । यो आर्थिक वर्षमा विद्युत बिक्री तथा अन्य स्रोतको आम्दानीबाट भएको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घट्न पुगेको हो ।
कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको २ वर्ष पूरा भएको अवसरमा बिहीबार पत्रकार सम्मेलन गरी प्राधिकरणले गत आवमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको बताए । ‘आव २०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रुपैयाँ थियो,’ उनले भने, ‘आव २०७८/७९ मा यो बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । तर, गत आवमा विविध कारणले १ अर्ब ४ करोड रुपैयाँ मुनाफा अघिल्लो वर्षकोभन्दा कम भएको छ ।’
उनले गत आवमा शुख्खायामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा तथा आन्तरिक माग धान्न विद्युत आयात प्रक्षेपण गरेकोभन्दा केही बढ्दा मुनाफा प्रभावित हुन पुगेको बताए ।
‘२० युनिटसम्म विद्युत खपत गर्ने ठूलो जनसंख्याबाट महसुल उठ्दैन । कृषिका ग्राहकलाई दिइने विद्युत पनि निकै सस्तो छ । यो अवस्थामा विद्युत उत्पादनमा कमी आउँदा आयात बढाउनु परेकाले गत आवमा मुनाफा प्रभावित हुन पुग्यो’, उनले भने ।
उनले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा यसलाई बढाएर १ खर्ब १८ अर्ब रुपैयाँ पुर्याउन सफल भएको बताए । उनका अनुसार प्राधिकरणको संचित नाफा पनि ११ अर्ब रुपैयाँबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
उनले २ वर्षको अवधिमा प्राधिकरणले आफ्नै स्रोतबाट ४८ अर्ब रुपैयाँ प्रसारण तथा वितरण प्रणालीको निर्माण एवं स्तरोन्नतिमा लगानी गरेको र सरकारको कोषमा सावा, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब रुपैयाँ जम्मा गरेको पनि जानकारी दिए ।
सेयर निष्कासको प्रक्रिया अन्तिम चरणमा
घिसिङले आफ्नो दोस्रो कार्यकालको २ वर्षकाे अवधिमा प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको गरी सर्वसाधारणका लागि सेयर निष्कासनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । उनले प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्न अनुमति लिने प्रक्रियामा गएको बताए ।
उनले प्राधिकरणको क्रेडिट रेटिङ गर्दा ए ए प्लस रेटिङ प्राप्त भइसकेको र अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिइसकेपछि सेयर निष्कासन गर्ने चरणमा पुगिने बताए ।
वितरण तथा ग्राहक सेवातर्फ
प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत चुहावट ३.९२ प्रतिशतले घटेर हाल १३.४६ प्रतिशतमा ल्याइपुयाएको छ । वितरणतर्फको विद्युत चुहावट ९.७६ प्रतिशतमा सीमित गर्न सफल भएको घिसिङले बताए ।
उनले २ वर्ष अघिसम्म देशभरका ८९ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेकोमा अघिले यो बढाएर ९५ प्रतिशत पुर्याउन सफल भएको बताए । उनले मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण भई औपचारिक घोषणा हुन बाँकी रहेको बताए ।
उनका अनुसार कोसी प्रदेशमा ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ प्रतिशत, कर्णाली प्रदेशमा ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको छ ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ वटा स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ भने २ सय २७ वटा स्थानीय तहका अधिकांस स्थानमा र राष्ट्रिय प्रसारण प्रणाली नपुगेका २१ वटा स्थानीय तहका अधिकांश स्थानमा सोलार, साना तथा लघु जलविद्युत आयोजना मार्फत विद्युतीकरण भएको घिसिङले बताए ।
उनले २ वर्षको अवधिमा प्रति व्यक्ति ऊर्जा खपत करिब २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको बताए । यो अवधिमा प्राधिकरणले उद्योगहरूको ८ सय एमभिए विद्युत लोड स्वीकृत गरेको उनको भनाई छ ।
सडक बत्ती र चार्जिङ्ग स्टेसन
प्राधिकरणले विद्युत खपत बढाउन विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्न देशका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । अघिकांश चार्जिङ स्टेशनहरू सञ्चालनमा आइसकेका छन् ।
कार्यकारी निर्देशक घिसिङले थप १३ वटाको निर्माण प्रक्रिया अगाडि बढाइएको बताए । यो अवधिमा नीजि क्षेत्रलाई प्रवद्र्धन गर्ने प्राधिकरणको नीति अनुरुप देशको विभिन्न स्थानमा १ सय वटा भन्दा बढी चाजिङ स्टेसन जडान कार्य भइसकेहेको उनले बताए ।
घिसिङले आफ्नो २ वर्षे कार्यकालमा सहर उज्यालो कार्यक्रम अन्तर्गत ललितपुर, पोखरा, भरतपुर लगायत देशका ८ नगरपालिकामा साढे ११ हजार सडक बत्ती जडान गर्न सफल भएको र काठमाडौ लगायत २७ वटा पालिकामा सडक बत्ती जडान कार्य अगाडि बढाइएको बताए । विभिन्न सम्पदा सूचीमा रहेका मन्दिर गुम्बा आदिमा लाइटिङ्ग गर्ने कार्य अन्तर्गत बौद्ध, स्वयम्भु र पशुपतिनाथमा आर्किटेक्चरल लाइटिङ डिजाइन गरी कार्यान्वयनको चरणमा पुर्याएको उनको भनाई छ ।
अन्तरदेशीय विद्युत व्यापार
नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरु गरी हाल करिव ४५० मेगावाट विद्युत गरिरहेको र थप ६ सय मेगावाट थप विद्युत निर्यातका लागि भारतको विद्युत मन्त्रालयमा सहमतिको प्रकृयामा रहेको बताए ।
‘बिहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ के.भी प्रसारण लाइनबाट बिहारको ग्रीड हुँदै भारतको केन्द्रीय ग्रीड प्रणालीबाट करिब ३ सय मेगावाट विद्युत बिक्री गर्न पिटिसी इन्डिया, बिहार स्टेट पावर कर्पोरेशन र विद्युत प्राधिकरणबीच त्रिपक्षीय सहमति यो २ वर्षको अवधिमा भएको छ । हरियाना राज्यलाई विद्युत दिने गरी भारतीय विद्युत व्यापार कम्पनी एनभिभिएनसँग ५ वर्षको लागि २ सय मेगावाटको मध्यकालिन विद्युत बिक्री सम्झौता सम्पन्न भएको छ । यसको समहतिको लागि भारतीय ऊर्जा मन्त्रालयमा पठाइएको छ,’ उनले भने ।
बंगलादेशमा विद्युत निर्यातको लागि भारतको एनभिभिएन, बंगलादेशको बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड र प्राधिकरणबीच त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
जडित क्षमता २२ सय २२ मेगावाट पुग्यो
विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीको विद्युत जडित क्षमता २८ सय २२ मेगावाट पुगेको छ । श्रावण २४ गतको तथ्यांकअनुसार २ वर्षको अवधिमा १३ सय ८३ मेगावाट विद्युत प्रणालीमा थप भई जडित क्षमता २८ सय २२ मेगावाट पुगेको हो । यसमा करिब ८७ मेगावाट विद्युत सौर्य विद्युत आयोजनाको रहेको घिसिङले बताए ।
प्राधिकरणले अहिलेसम्म करिब ८ हजार ५२ मेगावाटका विद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेकोमा २ वर्षमा १७ सय ७४ मेगावाटका आयोजनाको पिपिएमा हस्ताक्षर भएको छ । थप २२ सय ९० मेगावाटका आयोजना विद्युतको मस्यौदा पिपिए भएको र २१ सय ६८ मेगावाटको आयोजनाको पिपिए मस्यौदा तयारी गर्ने प्रक्रियामा रहेको घिसिङले बताए ।
घिसिङ पहिलो कार्यकाल पूरा गरी विदा भएको एक वर्षपछि २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषदको निर्णयबाट ४ वर्षका लागि दोस्रो कार्यकालका लागि नियुक्त भई प्राधिकरणको नेतृत्वमा आएका थिए । पहिलो कार्यकालमा दशकौंसम्म चलेको लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका उनलाई दोस्रो कार्यकालमा प्रसारण तथा वितरण प्रणालीको सुधार एवं आन्तरिक विद्युत खपत वृद्धि र अन्तरदेशीय विद्युत व्यापार बढाउनु पर्ने प्रमुख चुनौती छ ।
घिसिङले दोस्रो कार्यकालका लागि नियुक्त भई जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरीसरकारले दिएको जिम्मेवारी दृढताकासाथ पूरा गरिरहेको दाबी गरे । ‘प्राधिकरणको वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउनेदेखि प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुदृढीकरण गर्ने जिम्मेवारी लिएर म आएको थिएं,’ उनले भने, ‘यो २ वर्षमा उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा अतिरित्त भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छु ।’
विद्युतको खपत बढ्दै गएकाले प्रसारण तथा वितरण प्रणालीको समस्याले दिगो र गुणस्तरीय सेवा दिन भने अहिले समस्या आइरहेको उनले बताए । उनले जथाभावी विद्युत कटौती हुने समस्या समाधान हुने गरी प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण अगाडि बढाएको बताए ।
काठमाडौं उपत्यका सहित देशका प्रमुख ११ सहरहरूको सन् २०५० सम्मको विद्युत माग प्रक्षेपण गरी चरणबद्ध रुपमा ४००, २२० र १३२ केभीका प्रसारण लाइन तथा सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाएको बताए ।